राजनिती

अब रगत होइन, पसिना बगाउने समय आएको छ : अध्यक्ष साम्पाङ राई

By अर्जुन भट्टराई

अब रगत होइन, पसिना बगाउने समय आएको छ : अध्यक्ष साम्पाङ राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले देशमा अब रगतको होइन, पसिनाको क्रान्ति आवश्यक रहेको बताएका छन् । साथै, संविधानका आधारभूत व्यवस्थामाथि कुनै हस्तक्षेप नगर्न उनले आग्रह गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारको १०० दिनको समीक्षा गर्दै साम्पाङले भने, ‘देशमा रगत होइन, पसिना बगाउनुपर्छ। व्यवस्था परिवर्तनले मात्रै जीवनस्तर बदलिँदैन, काम गर्ने संस्कृतिको विकास गर्नुपर्छ।’ व्यवस्था परिवर्तनका लागि हजारौँ नेपालीले दिएको बलिदानलाई सम्झँदै प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा उनले जोड दिए।

रोजगारीको अभावका कारण ठूलो संख्यामा नेपाली युवा विदेशिन बाध्य भइरहेको उल्लेख गर्दै साम्पाङले देशभित्रै भविष्य देख्न सकिने वातावरण बनाउन सरकारलाई आग्रह गरे।

उनले दार्चुलाको टिङ्कर सडक निर्माणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए। सीमावर्ती क्षेत्रमा गुणस्तरीय सडक निर्माण गर्नु विकासको मात्र नभई राष्ट्रिय सुरक्षाको पनि विषय भएको उनको भनाइ थियो।

सरकारको १०० दिनको कार्यकालबारे अत्यधिक आलोचना नगर्ने बताउँदै साम्पाङले सयौँ वर्षदेखि थुप्रिएका समस्या १०० दिनमा समाधान हुन नसक्ने स्पष्ट पारे। तथापि, प्रतिपक्षका सुझावलाई सरकारले सकारात्मक रूपमा ग्रहण गर्नुपर्नेमा उनले जोड दिए।

साम्पाङले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई पुनःस्थापनाको व्यवस्था नगरी विस्थापित नगर्न आग्रह गरे। सहकारी ठगीमा संलग्न व्यक्तिहरूको सम्पत्तिबाट कति रकम असुल गरिएको छ भन्ने विवरण सार्वजनिक गर्न पनि उनले माग गरे।

सुस्ता क्षेत्रका बासिन्दाको आन्दोलन, भूमि प्रमाणपत्र वितरण र सीमावर्ती विकासजस्ता विषयमा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य विश्वविद्यालयका रूपमा विकास गर्न माग गर्दै प्रतिष्ठानको आर्थिक अवस्था कमजोर बन्दै गएकोमा उनले चिन्ता व्यक्त गरे।

विपद् व्यवस्थापनमा पूर्वतयारी कमजोर रहेको औँल्याउँदै साम्पाङले दुर्घटनापछि मात्र प्रतिक्रिया जनाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए। चालकलाई जरिवाना मात्र नगरी पर्याप्त तालिम दिनुपर्ने र विपद्का बेला नागरिकले अपनाउनुपर्ने उपायबारे व्यापक जनचेतना फैलाउन पनि उनले आग्रह गरे। अन्तमा, सरकारको १०० दिनको प्रयासको सराहना गर्दै जनताका सुझाव समेटेर अघि बढ्न उनले आह्वान गरे।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.