काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधुकुमार चौलागाईंले दुग्ध विकास संस्थान (डीडीसी) भित्र भएको अनियमितताको छानबिन प्रतिवेदन सार्वजनिक गर्न र दूध किसानको बाँकी रकम भुक्तानी दिलाउन सरकारसँग माग गरेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौलागाईंले भने— अर्थ मन्त्रालयले २०८१ सालमा डीडीसीभित्रको अनियमितता छानबिन गर्न एउटा समिति बनाएको थियो। त्यस समितिले मेसिन तथा औजार खरिदमा १ करोड १७ लाख रुपैयाँको घोटाला भएको निष्कर्ष निकालेर प्रतिवेदन पनि बुझाइसकेको छ।
‘त्यो प्रतिवेदन कुन शोकेसमा थन्किएको छ ? कहिले बाहिर आउँछ ? र दूध किसानले आफ्नो बक्यौता रकम कहिले पाउँछन् ?’ भन्दै उनले सरकारको ध्यान तान्न खोजे।
यसैगरी, उनले भारतमा एक नेपाली युवाको शंकास्पद मृत्युको विषय पनि संसद्मा उठाए। उनका अनुसार काभ्रेको नवबुद्ध गाउँका एक युवा रोजगारीको खोजीमा भारत गएका थिए। यही महिनाको १३ गते उनको मृत्यु भएको छ। परिवारले यो मृत्युलाई शंकास्पद भनिरहेको भए पनि सरकार अझैसम्म बेखबर रहेको उनले बताए।
‘देशले रोजगारी दिन सकेन, युवा बाहिरिए। अब उनीहरूको ज्यान जाँदा पनि सरकार चुप लागेर बस्छ भने कसले न्याय दिने ? म सरकारको ध्यान तान्न चाहन्छु— यस घटनाको निष्पक्ष अनुसन्धान होस्,’ उनले भने।
