राजनिती

बर्डफ्लुको हल्लाले किसान मारमा, सांसद तामाङले माग्यो सरकारको ध्यान

By अर्जुन भट्टराई •

बर्डफ्लुको हल्लाले किसान मारमा, सांसद तामाङले माग्यो सरकारको ध्यान

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले बर्डफ्लुको हल्लाका कारण देशभरका बोइलर कुखुरा पाल्ने किसानहरू गम्भीर समस्यामा परेको भन्दै सरकारको ध्यान खिच्न माग गरेकी छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले बर्डफ्लुको त्रासका कारण बजारमा कुखुराको मासु र अण्डाको माग घट्दै गएको, मूल्यमा गिरावट आएको र किसानको ठूलो लगानी जोखिममा पर्ने अवस्था बनेको बताइन्।

उनले थप भनिन् कि बर्डफ्लु पुष्टि हुने प्रक्रिया अझै चलिरहेकै बेला नेपाल टेलिकमको रिङटोनमार्फत किसानलाई थप डर र चिन्ता थप्ने किसिमको सूचना प्रसारण गरिएको छ, जुन उचित होइन।

सांसद तामाङले सरकारसँग स्पष्ट जवाफ माग गर्दै भनिन् — वास्तविक प्रयोगशाला परीक्षणका आधारमा संक्रमण पुष्टि भएको हो वा केवल आशंकाका भरमा त्यस्ता सूचना जारी गरिएको हो, यो कुरा सरकारले जनतासामु स्पष्ट पार्नु जरुरी छ।

उनले माग गरिन् — यदि बर्डफ्लु संक्रमण साँच्चिकै पुष्टि भएको हो भने सरकार र सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चालून्, नियन्त्रण र रोकथामका उपाय अपनाऊन् र सत्य तथ्यमा आधारित सूचना मात्र प्रवाह गरून्। किसानको मेहनत, लगानी र जीविकोपार्जन अनावश्यक रूपमा जोखिममा पर्न दिनु हुँदैन।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.