काठमाडौं। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार गठन भएको सय दिनको अवधिमा लोकतन्त्र, विधि र संसदीय प्रक्रियामाथि निरन्तर हस्तक्षेप भएको आरोप लगाएका छन्।
सोमबार सिंहदरबारस्थित संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै सांसद केसीले भने, ‘लोकतन्त्र भनेको परिणाम मात्र होइन। परिणामसँगै प्रक्रिया पनि लोकतान्त्रिक, विधिसंगत र पद्धतिसम्मत हुनुपर्छ। विधि, पद्धति र प्रक्रियाको संयुक्त स्वरूप नै लोकतन्त्र हो। तर सय दिनभित्र यी आधारभूत मान्यतालाई एकपछि अर्को गर्दै निरन्तर तोड्ने र निमोठ्ने काम भएको छ।’
उनले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्ति व्यक्तिगत नभई सरकारको आधिकारिक धारणा हुने भएकाले त्यसबारे उठेका प्रश्नको जवाफ दिनु प्रधानमन्त्रीको दायित्व रहेको बताए। उक्त अभिव्यक्तिबारे पाँच सातादेखि संसद्मा प्रश्न उठिरहे पनि अहिलेसम्म कुनै स्पष्ट जवाफ नआएको उनले उल्लेख गरे। आवश्यक परे सो अभिव्यक्ति फिर्ता लिन, सच्याउन वा आफ्नो आशय स्पष्ट पार्नुपर्ने उनको धारणा थियो।
केसीले संसद्को सम्मान र भूमिकालाई कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाउँदै संसद् केवल प्रतिपक्षको नभई सभामुख, सत्तापक्ष र प्रतिपक्ष सबैको साझा संस्था भएको स्मरण गराए। संसद् सरकार निर्माण गर्ने मात्र नभई सरकारलाई निर्देशन दिने सर्वोच्च लोकतान्त्रिक संस्था भएकाले त्यसको उपेक्षा गम्भीर विषय भएको उनले बताए।
