खेलकुद

ए–स्टार नेपाल बास्केटबल लिगको उपाधि ग्रीनफोर्ड नाइट्सले जिते

By अर्जुन भट्टराई

ए–स्टार नेपाल बास्केटबल लिगको उपाधि ग्रीनफोर्ड नाइट्सले जिते

लन्डन । नेपालबाहिर नेपाली समुदायद्वारा आयोजना हुने सबैभन्दा ठूला खेलकुद प्रतियोगितामध्येको एक ‘ए–स्टार नेपाल बास्केटबल लिग २०२६’ को पाँचौँ संस्करणको उपाधि ग्रीनफोर्ड नाइट्सले आफ्नो नाममा पारेको छ। लन्डनस्थित ब्रुनेल विश्वविद्यालय स्पोर्ट्स सेन्टरमा शनिबार भएको फाइनल खेलमा ग्रीनफोर्ड नाइट्सले स्यान्डहर्स्ट निक्सलाई पराजित गर्दै ट्रफी चुम्यो।

विजेता टोलीलाई लिगका मुख्य प्रायोजक ए–स्टार मोर्गेजेज युके तथा ए–स्टार रियल एस्टेट्स युकेका प्रबन्ध निर्देशक मिन दर्लामीले ट्रफी हस्तान्तरण गरे। लन्डन बरो अफ हन्स्लोका पूर्व मेयर विष्णु बहादुर गुरुङ, तमु धी युकेका अध्यक्ष जुमकाजी गुरुङ र नेपाल पत्रकार महासंघ युके शाखाकी अध्यक्ष बिमला सेनेले विजेता तथा उपविजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरे। नेपाल फुड्स र अनुग्रह ज्वेलर्सलगायत संस्थाहरूले खेलाडीहरूलाई गिफ्ट ह्याम्पर पनि प्रदान गरे।

सोही प्रतियोगिताअन्तर्गत भेटरान्स वर्गमा स्ल्यामर्स र ब्रिगेड बोइज क्लब (बीबीसी) बीच रोचक भिडन्त भयो। महिला वर्गमा भने विमेन बलर्स क्लबले लन्डन हटशट्सलाई हराउँदै उपाधि जित्यो।

कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित नेपाली महिला बास्केटबल टोलीकी राष्ट्रिय कप्तान अनुशा मल्लले पनि विजयी खेलाडीहरूलाई पुरस्कार प्रदान गरिन्। खेलको स्तरको प्रशंसा गर्दै उनले भनिन्, ‘नेपालबाहिर नेपालीहरूबीच यसरी भव्य खेल भइरहेको देख्दा निकै खुसी लागेको छ। समय मिलाएर खेललाई निरन्तरता दिन र आफ्नो प्यासनलाई फलो गर्न म सबैलाई आग्रह गर्छु।’

यसअघि गत जुन २१ मा फेल्थमस्थित स्प्रिङवेस्ट एकेडेमीमा सेमिफाइनल खेलहरू सम्पन्न भएका थिए। पहिलो सेमिफाइनलमा स्यान्डहर्स्ट निक्सले ह्याम्पशायर हुपर्सलाई ८२–७७ को अन्तरले र दोस्रो सेमिफाइनलमा ग्रीनफोर्ड नाइट्सले बलर्स स्ल्यामर्सलाई १०९–७७ को फराकिलो अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेका थिए।

लिगका संयोजक सार्थक गुरुङले शनिबारको फाइनल निकै रोमाञ्चक र उच्च स्तरको रहेको बताए। नेपाल बास्केटबल युकेका अध्यक्ष रूपक गुरुङले प्रतियोगितालाई यो उचाइसम्म पुर्‍याउन सहयोग गर्ने सम्पूर्ण खेलाडी, स्वयंसेवक, प्रायोजक र दर्शकहरूप्रति आभार व्यक्त गरे। मुख्य प्रायोजक ए–स्टार मोर्गेजेज तथा रियल एस्टेट्सका प्रबन्ध निर्देशक दर्लामीले यस्ता खेलकुद आयोजनाले युवाहरूलाई रचनात्मक कार्यमा प्रेरित गर्नुका साथै उनीहरूको व्यक्तित्व विकासमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नेपाल बास्केटबल लिग युकेले विमेन बलर्स क्लबसँगको सहकार्यमा आयोजना गरेको यस वर्षको लिगमा पुरुषतर्फ ११ र महिलातर्फ २ टोलीले भाग लिएका थिए। गत चैत १ गतेदेखि सुरु भएको यस प्रतियोगिताले बेलायतभर छरिएका नेपाली मूलका प्रतिभाशाली युवा खेलाडीहरूलाई एउटै मञ्चमा एकत्रित गरी खेलकुदप्रतिको लगाव र आपसी भाइचारा बढाउन महत्त्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएका छन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.