राजनिती

प्रेस स्वतन्त्रता संकुचन गर्ने मनसाय छैन : मन्त्री तिमिल्सिना

By अर्जुन भट्टराई

प्रेस स्वतन्त्रता संकुचन गर्ने मनसाय छैन : मन्त्री तिमिल्सिना

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै मनसाय नराखेको स्पष्ट पारेका छन्।

आइतबार नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले भने, ‘हामी पहिलो १०० दिन नागरिकलाई परिणाम देखाउन अत्यन्तै व्यस्त थियौं। यसबीचमा सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्न खोज्यो भन्ने आशंका धेरैमा रहेको पाएँ। तर पत्रकार मित्रहरूलाई यस विषयमा चिन्तित नहुन अनुरोध गर्छु।’

उनले लोकतन्त्रको आधारस्तम्भ नै प्रेस स्वतन्त्रता भएको र त्यसलाई कसैले पनि हनन गर्न नसक्ने बताए। संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको अधिकार कार्यान्वयनमा कुनै अवरोध आएमा त्यसको समाधानका लागि कानुनी र संस्थागत व्यवस्था रहेको उनले उल्लेख गरे।

मन्त्री तिमिल्सिनाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तर्फबाट प्रेस स्वतन्त्रताको संरक्षणमा सरकार पूर्ण प्रतिबद्ध रहेको दोहोर्याए। प्रेस स्वतन्त्रता हननसँग जोडिएका कुनै गुनासो वा समस्या भए संवाद र छलफलमार्फत समाधान गर्न सरकार सधैं तयार रहेको पनि उनले स्पष्ट पारे।

पत्रकारितालाई लोकतन्त्रको चौथो अंगका रूपमा उल्लेख गर्दै उनले यसलाई थप बलियो, संस्थागत, विश्वसनीय र व्यावसायिक बनाउन सञ्चार मन्त्रालय प्रतिबद्ध रहेको बताए। साथै पत्रकारिता जगतले पनि आफ्नो गरिमा, विश्वसनीयता र सामाजिक दायित्व कायम राख्न जिम्मेवार अभ्यासलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सञ्चारसम्बन्धी कानुन, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहसको आवश्यकता रहेको बताइन्। अब बन्ने संघीय सञ्चार कानुन कस्तो हुनुपर्छ, पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन कसरी गर्ने र पत्रकारको व्यावसायिक उत्तरदायित्व कसरी सुदृढ बनाउने भन्ने विषयहरू सम्मेलनका प्रमुख छलफल एजेन्डा रहेको उनले जानकारी दिइन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.