नुवाकोट । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले नुवाकोटस्थित बाल सुधार गृहको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छन्।
निरीक्षणका क्रममा मन्त्री बादीले गृहमा रहेका बालबालिकाको आवास, शिक्षा, स्वास्थ्य सेवा, सुरक्षा व्यवस्था, मनोसामाजिक परामर्श, सीप विकास तथा समग्र सेवा प्रवाहको अवस्थाबारे जानकारी लिइन्। साथै उनले बालबालिका, कर्मचारी तथा सम्बन्धित पदाधिकारीसँग अन्तरक्रिया पनि गरिन्।
विशेष गरी, मन्त्री बादीले गृहका पदाधिकारी र टोलीका सदस्यहरूलाई बाहिरै राखेर कानुनी विवादमा परेका बालबालिकासँग छुट्टै बसी प्रत्यक्ष संवाद गरिन् र उनीहरूका धारणा ध्यानपूर्वक सुनिन्।
संवादका क्रममा बालबालिकाले प्रदेशगत आधारमा आफूहरूको व्यवस्थापन गर्नुपर्ने माग राखे। साथै विज्ञान तथा प्रविधिको युगअनुसार सूचना प्रविधि, कम्प्युटर तथा विभिन्न सीपमूलक तालिमसँग आफूहरूलाई जोड्नुपर्ने आवश्यकता पनि औँल्याए। उनीहरूले नियमित मनोसामाजिक परामर्श सेवा प्रभावकारी बनाउन, पारिवारिक भेटघाटको व्यवस्था सहज तुल्याउन र पुनःस्थापनामुखी कार्यक्रमलाई थप प्रभावकारी बनाउन पनि आग्रह गरे। विद्यमान कानुनी व्यवस्थामा समयानुकूल सुधार तथा संशोधन आवश्यक रहेको विषय पनि बालबालिकाले मन्त्रीसमक्ष राखे।
निरीक्षणपछि मन्त्री बादीले बाल सुधार गृहमा देखिएका चुनौती र आवश्यकताहरूको समीक्षा गर्दै सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइन्। गृहसम्म पुग्ने बाटोको स्तरोन्नति, सीप विकास तालिम सञ्चालन, औषधि उपचारका लागि बजेट व्यवस्था, सवारी साधन मर्मत, कर्मचारी व्यवस्थापन, कम्प्युटर ल्याब स्थापना, बैंक खाता सञ्चालन तथा आवश्यक पूर्वाधार सुदृढीकरणलगायतका विषयलाई प्राथमिकतासाथ सम्बोधन गर्न उनले जोड दिइन्।
