राजनिती

बालेन सरकारका १०० दिन : जनताको मनमा आशा पनि छ, आशंका पनि

By अर्जुन भट्टराई

बालेन सरकारका १०० दिन : जनताको मनमा आशा पनि छ, आशंका पनि

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनबाट सत्तामा पुगेको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको एकसय दिन पूरा भएको छ । पुराना राजनीतिक दलहरूभन्दा फरक मानिएको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बनेको यस सरकारप्रति बहुसंख्यक नेपाली आशावादी देखिन्छन् ।

पैदल यात्रुदेखि चोकचौतारासम्म, सभासम्मेलनदेखि साधारण जमघटसम्म — जताततै सरकारका कामकारबाहीबारे चर्चा र बहस भइरहेको छ । नेपाल न्यूज बैंकले यसै सिलसिलामा सर्वसाधारण नागरिकहरूको प्रतिक्रिया संकलन गरेको छ ।

काठमाडौंको वानेश्वरमा भेटिएका निर्मल पौडेलले सरकारले राष्ट्रिय हित, सुशासन र जनउत्तरदायित्वलाई प्राथमिकतामा राख्नुपर्ने बताए । ‘जनताको हितविपरीत कुनै पनि काम हुनु हुँदैन,’ उनले भने ।

विवेक कुमार राईले सरकारका काम नजिकबाट नियालिरहेको बताउँदै ट्राफिक नियममा गरिएको कडाइ र सडक पूर्वाधारमा भइरहेको सुधारलाई सकारात्मक रूपमा लिए ।

होम बहादुर चालिसेले वर्तमान सरकार अघिल्ला सरकारभन्दा राम्रो काम गरिरहेको बताए । तर उनले मेलम्ची खानेपानी आयोजनाको क्षेत्रमा बाढीले घर, सडक र खेतीयोग्य जमिनमा ठूलो क्षति पुर्‍याउँदा पनि राज्यले उचित राहत र पुनःस्थापनामा ध्यान नदिएको पुरानो गुनासो पनि सुनाए ।

वानेश्वरकै दुर्गाराज चालिसेले नयाँ सरकारले एमाले, माओवादी र कांग्रेसजस्ता ठूला दलले गरेका गल्ती नदोहोर्‍याउनुपर्ने बताए । संसद् बैठक समयमै सञ्चालन हुनुपर्ने, मन्त्रीहरू सदनप्रति उत्तरदायी हुनुपर्ने र भ्रष्टाचारमा संलग्न जो–कोहीलाई कानुनी कारबाही गर्नुपर्ने उनको माग थियो । भूमिहीन, सुकुम्बासी र हुकुमवासी नागरिकहरूको समस्या समाधानका लागि सरकारले उपयुक्त व्यवस्थापन गर्नुपर्ने धारणा पनि उनले राखे ।

सर्वसाधारण महेश्वर दाहालले भने सय दिनकै आधारमा सरकारको मूल्यांकन गर्न नहुने बताए । ‘विगतका सरकारलाई जनताले लामो समय परीक्षण गरिसके, यो सरकारलाई अलि समय दिनुपर्छ,’ उनले भने । तर ठूला भ्रष्टाचार प्रकरणको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउने र राज्यको सम्पत्ति फिर्ता गराउने काम प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव थियो ।

वानेश्वरमै भेटिएकी विद्यार्थी स्नेहा शाहले प्रधानमन्त्री बालेन्द्र शाहले पदभार सम्हालेकै दिनदेखि सक्रिय रूपमा काम थालेको सराहना गरिन् । ‘उहाँले गर्नुभएको काम मलाई एकदमै राम्रो लागेको छ । खोला किनारामा अवैध रूपमा बसेकाहरूको व्यवस्थापन र शिक्षा क्षेत्रमा ल्याइएका परिवर्तनहरू सकारात्मक लागेका छन् । सरकारले शिक्षामा अझ बढी ध्यान दिए हाम्रो भविष्य र देश दुवैका लागि राम्रो हुन्छ,’ उनले भनिन् ।

तर काजी बहादुर घिमिरेले भने केही सावधानीका कुरा उठाए । ‘नयाँ सरकारप्रति सुरुमा ठूलो आशा थियो, तर अहिले कतिपय काम जनताविरुद्ध हुन थालेको हो कि भन्ने आशंका उत्पन्न हुन थालेको छ,’ उनले भने । प्रधानमन्त्री देशको अभिभावक भएकाले धैर्यता, इमानदारी र जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको भनाइ थियो । ‘जल, जमिन, जंगल, जडीबुटी, स्वास्थ्य, शिक्षा, सञ्चार, रोजगारी र ऊर्जा विकासमा सरकारले प्रभावकारी काम गर्न सके जनताले सधैँ साथ दिन्छन् । तर जनताको हितविपरीत काम भयो भने जनताले चुप लागेर सहँदैनन्,’ उनले थपे ।

अर्का सर्वसाधारण बद्रीप्रसाद हुमागाईले सरकारले छोटो अवधिमै सुशासन र भ्रष्टाचार नियन्त्रणमा सकारात्मक सुरुवात गरेको बताए । अघिल्ला सरकारले गर्न नसकेका केही काम अहिलेको सरकारले अघि बढाएको उल्लेख गर्दै विपक्षीको आलोचना स्वाभाविक भए पनि थालिएका सुशासनका प्रयासलाई निरन्तरता दिन जरुरी रहेको उनको धारणा थियो ।

संक्षेपमा भन्दा, बालेन सरकारका पहिलो एकसय दिनबारे सर्वसाधारणको प्रतिक्रिया मिश्रित छ — आशा र विश्वास पनि छ, आशंका र सतर्कता पनि ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.