राजनिती

उज्यालो नेपाल पार्टी नयाँ वैकल्पिक शक्तिको रूपमा अघि बढ्दै : उप–महासचिव लामा

By अर्जुन भट्टराई

उज्यालो नेपाल पार्टी नयाँ वैकल्पिक शक्तिको रूपमा अघि बढ्दै : उप–महासचिव लामा

काठमाडौं। उज्यालो नेपाल पार्टीका उप–महासचिव जितराम लामाले राष्ट्रिय पहिचानको संरक्षण, राजनीतिक स्थिरता, सुशासन र युवा पुस्ताको आकांक्षालाई सम्बोधन गर्ने उद्देश्यले उज्यालो नेपाल पार्टी स्थापना गरिएको बताएका छन्।

शनिबार रामेछाप–सुनापति (काठमाडौं सम्पर्क मञ्च) द्वारा आयोजित प्रथम भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले नेपालमा धेरै राजनीतिक दल भए पनि बदलिँदो राजनीतिक, सामाजिक र आर्थिक आवश्यकतालाई सम्बोधन गर्न नयाँ वैकल्पिक शक्तिको खाँचो भएकाले यो पार्टी गठन गरिएको स्पष्ट पारे।

उनले भने, ‘हाम्रो राष्ट्रिय पहिचान र विविधतालाई जगेर्ना गर्दै नेपालको ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई विकासको आधारभूमिका रूपमा स्थापित गर्नु हाम्रो मुख्य लक्ष्य हो।’

लामाले नेपालको जातीय, सांस्कृतिक र भौगोलिक विविधतालाई विकासको बाधक नभई सम्भावनाको स्रोतका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘यहाँ जातीय विविधता छ, भौगोलिक विविधता छ। विकट क्षेत्रहरूलाई जोड्न र सबैलाई एकताबद्ध गर्न उज्यालो नेपाल पार्टी आवश्यक छ।’

राजनीतिक अस्थिरता र भ्रष्टाचारका कारण मुलुकको विकास प्रभावित भएको बताउँदै उनले पुराना राजनीतिक दलहरूले वर्तमान चुनौतीको प्रभावकारी समाधान दिन नसकेको उल्लेख गरे। ‘राजनीतिक अस्थिरता र भ्रष्टाचारले गर्दा देश अधोगतितर्फ गइरहेको थियो। यो समस्याको समाधानका लागि नयाँ पार्टी चाहिन्छ,’ उनले भने।

लामाले विगतका राजनीतिक दल र नेताहरूको योगदानलाई सम्मान गर्दै नयाँ पुस्ताको ऊर्जा, आकांक्षा र सोचलाई एकै ठाउँमा जोड्ने साझा मञ्चका रूपमा उज्यालो नेपाल पार्टी अघि बढेको बताए। उनले थपे, ‘पुराना पार्टीहरूले बदलिँदो परिस्थितिलाई सम्बोधन गर्न सक्दैनन्, त्यसैले नयाँ पार्टीको आवश्यकता छ।’

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.