राजनिती

सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची असफल भयो : नेपाली कांग्रेस

By अर्जुन भट्टराई

सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची असफल भयो : नेपाली कांग्रेस

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार आफ्नै प्रतिबद्धता पूरा गर्न असफल भएको आरोप लगाएको छ।

सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको निष्कर्ष निकाल्दै कांग्रेसले यो विषयलाई संसद्मा सशक्त रूपमा उठाउने निर्णय गरेको छ।

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा शनिबार सिंहदरबारस्थित दलको कार्यालयमा मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकहरूको बैठक बसेको थियो। सो बैठकमा विभिन्न मन्त्रालयको कार्यसम्पादनसम्बन्धी प्रतिवेदनको समीक्षा गरी सरकारको कार्यप्रगतिबारे धारणा सार्वजनिक गरिएको हो।

बैठकले पहिलो निर्णयमै सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको विषयलाई संसद्को प्रमुख एजेन्डा बनाउने निधो गरेको छ। साथै, सरकारका मन्त्रालयहरूको कार्यसम्पादनमाथि निरन्तर निगरानी राख्ने नीति पनि कांग्रेसले अपनाएको छ।

संयोजकहरूले पेश गरेका प्रतिवेदनमा उल्लिखित सुझाव र निष्कर्षका आधारमा सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक सुधारात्मक पहल अघि बढाउन र मन्त्रालयहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन दबाब दिने कांग्रेसको तयारी रहेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.