हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता बालेन्द्र शाहको नेतृत्वमा बनेको सरकारले कार्यकालको पहिलो सय दिन पूरा गरी उपलब्धिहरू सार्वजनिक गरेको छ । तर मकवानपुरमा भने तस्बिर फरक छ — सरकारका अधिकांश प्रतिबद्धता कागजमै सीमित भएको भन्दै स्थानीय निराश र आक्रोशित बनेका छन् ।
सरकार गठन भएको एक महिनाभित्र हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याइने घोषणा भएको थियो । तयारी भइरहेको दाबी गरिए पनि सय दिन बितिसक्दा उद्योग अझै बन्द छ । लामो समयदेखि ठप्प रहेको उद्योग फेरि चल्ने आशा राखेका स्थानीय अहिले मायूस बनेका छन् ।
हेटौँडा सिमेन्ट उद्योगको उत्पादन, व्यवस्थापन र वितरण प्रणालीमा सुधार गर्ने सरकारी प्रतिबद्धता पनि व्यवहारमा उत्रन सकेको छैन । अपेक्षित सुधार नदेखिएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् ।
मकवानपुरको बहुचर्चित २५ मिटर सडक विस्तारको विषय पनि अझै अन्योलमै छ । सडक विस्तारका क्रममा घर तथा संरचना भत्काइएका नागरिकलाई उचित मुआब्जा दिइने भनिएको थियो, तर त्यो प्रतिबद्धता पूरा हुन नसकेकाले प्रभावित परिवार अझै अलमलमा परेका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडाको रातोमाटे र थानाभऱ्याङ (थारा) ट्राफिक बिट क्षेत्रमा स्वचालित जरिवाना प्रणाली (फाइन सिस्टम) लागू गर्ने घोषणा पनि कार्यान्वयनमा आउन सकेको छैन । सडक सुरक्षा सुदृढ गर्ने उद्देश्यले गरिएको यो घोषणा हालसम्म अलपत्र परेपछि स्थानीयले सरकारको कार्यान्वयन क्षमतामाथि नै प्रश्न उठाएका छन् ।
स्थानीय दीपक खड्काले सरकारका अधिकांश प्रतिबद्धता कागजमै सीमित रहेको आरोप लगाए । उनले भने, ‘बालेन सरकार बनेदेखि देशमा झन् लुटतन्त्र मौलाएको अनुभूति भएको छ । जनताले खोजेको सुशासन र परिणाम देख्न पाएनौँ । अब देशलाई गणतन्त्रभन्दा राजतन्त्र आवश्यक भएको महसुस हुन थालेको छ ।’
अर्का स्थानीय राजकुमार श्रेष्ठले परिवर्तनको आशामा घण्टी चुनाव चिह्नमा मतदान गरेको स्मरण गराउँदै भने, ‘मैले पनि घण्टीमै भोट हालेको हुँ । २५ मिटर सडकको मुद्दा छिट्टै समाधान हुन्छ भन्ने विश्वासमा सरकारलाई समर्थन गरेका थियौँ । तर सय दिन बितिसक्दा पनि सरकारले यो विषयलाई प्राथमिकतामा राखेको देखिएन । अहिले हामी निराश छौँ ।’
मकवानपुरका स्थानीयले घोषणा र व्यवहारबीच ठूलो खाडल रहेको बताउँदै सरकारसँग अधुरा प्रतिबद्धताहरू तत्काल कार्यान्वयन गर्न माग गरिरहेका छन् ।
