राजनिती

सरकारको सय दिन: धनुषाबासीको मिश्रित प्रतिक्रिया, प्रदेश नखारेज्न सुझाव

By अर्जुन भट्टराई

सरकारको सय दिन: धनुषाबासीको मिश्रित प्रतिक्रिया, प्रदेश नखारेज्न सुझाव

धनुषा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले १०० दिन पूरा गरेको छ । देशभरबाट ठूलो जनसमर्थन पाएर बनेको यस सरकारसँग नेपालीहरूको अपेक्षा पनि उत्तिकै ठूलो छ । तर मधेस प्रदेशको धनुषाका सर्वसाधारण, व्यवसायी र सामाजिक अभियन्ताहरूको प्रतिक्रिया भने मिश्रित रहेको छ ।

अधिकांश धनुषावासी सरकारको कामबाट असन्तुष्ट देखिएका छन् । सरकारले गरेका काम नराम्रा नभएपनि अपेक्षा अनुसार नभएको उनीहरूको भनाइ छ । विशेषगरी रास्वपाले चुनावी अभियानका क्रममा जनकपुरधाममा प्रधानमन्त्री बालेन्द्र शाहले दिएका वाचा र अहिलेको कार्यशैलीबीचको फरकले स्थानीय व्यवसायीहरू बढी असन्तुष्ट बनेका छन् ।

भारतसँग सीमा जोडिएको यस क्षेत्रका मानिसहरू भारतीय बजारमा किनमेल गर्न अभ्यस्त छन् । सरकारले सीमाबाट ल्याउने सामानमा कडाइ गरेपछि मझौला व्यवसायीहरू झनै मारमा परेका छन् ।

जनकपुरधाम–४ का स्थानीय व्यवसायी गोपाल साह भन्छन्, ‘सरकारले लगाएका विभिन्न करका कारण महँगी बढेको छ र व्यापार झन् बिग्रिँदो अवस्थामा पुगेको छ । सरकारले साना व्यापारीहरूको बारेमा सोच्नु आवश्यक छ ।’ उनले गरिबहरूको बस्ती भत्काउनुअघि वैकल्पिक व्यवस्था मिलाएर स्थानान्तरण गर्नुपर्नेमा जोड दिए । पहिला बस्ती भत्काउने अनि पछि अर्को ठाउँमा लैजाने तरिका गलत भएको उनको भनाइ छ ।

जनकपुरधामका सामाजिक अभियन्ता एवं युवा सशील कर्ण भने सरकारलाई अझै समय दिनुपर्ने पक्षमा छन् । ‘शिशु जन्मेको तीन महिनामा उसको भविष्य ठोकुवा गर्न मिल्दैन,’ उनले उदाहरण दिँदै भने । तथापि कर्णले विद्युतमा लगाइएको करको विरोध गरे र शिक्षा, स्वास्थ्य तथा भ्रष्टाचार न्यूनीकरणमा सरकारले गम्भीर भएर काम गर्नुपर्ने अपेक्षा व्यक्त गरे ।

जानकी चोकका नवीन कुमार साहका अनुसार सरकारको मूल्यांकन गर्न अझै समय छ । नेपालको संविधान विश्वकै उत्कृष्ट भनिए पनि यो कागजमा मात्र सीमित रहेको र भ्रष्टाचार नियन्त्रण कसरी हुन्छ भनी हेर्न बाँकी रहेको उनले बताए ।

जनकपुरधाम–२ का रामबाबु यादवले भने सरकारका प्रशासनिक कार्यहरू, विशेषगरी बजेट निर्माणलगायतका काम राम्रो रहेको बताए । तर मधेस प्रदेशका लागि थप काम गर्नुपर्ने उनको माग छ । रास्वपाका नेताहरूले प्रदेश खारेजीको कुरा गर्नु गलत भएको बताउँदै उनले यस्तो कदम उठाए पार्टीको पतन निश्चित हुने चेतावनी दिए ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.