सर्लाही। सर्लाहीको गोडैता नगरपालिकाले नवनिर्मित गोडैता नगर अस्पताल सञ्चालनमा ल्याउन आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आग्रह गरेको छ।
शुक्रबार नगर प्रमुख देबेन्द्र यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई मन्त्रालयमै भेटेर आग्रह पत्र बुझाए। उनले अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण, औषधि तथा अन्य स्वास्थ्य सामग्रीको व्यवस्था गरिदिन अनुरोध गरेका थिए।
आग्रह पत्र बुझेकी मन्त्री मेहताले आवश्यक प्रक्रिया पूरा गरी केही समयभित्र स्वास्थ्य सामग्री उपलब्ध गराउने आश्वासन दिएको नगर प्रमुख यादवले नेपाल न्यूज बैंकसँग जानकारी दिए।
गोडैता नगरपालिकाको वडा नम्बर ३, सिमरा भगवतिपुरमा निर्माण सम्पन्न भएको १५ शैयाको यो अस्पताल गत असार १० गते उद्घाटन गरिएको थियो। अस्पताल पूर्ण रूपमा सञ्चालनमा आएपछि नगरवासीले आफ्नै पालिकाबाट आधारभूत तथा प्राथमिक स्वास्थ्य सेवा सहजै पाउने अपेक्षा गरिएको छ।
नगरपालिकाले अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न स्वास्थ्य सामग्री, उपकरण तथा जनशक्तिको व्यवस्थापनका लागि संघीय र प्रदेश सरकारसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।
