काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले वर्तमान सरकार गठन भएको एक वर्षको अवसरमा आफ्नो क्षेत्रमा भएका उपलब्धिहरू सार्वजनिक गरेको छ। मन्त्रालयले ७५ बुँदे प्रगति विवरण जारी गर्दै नीति निर्माण, विद्युत् उत्पादन, प्रसारण, निर्यात, सिंचाइ विस्तार, हरित ऊर्जा प्रवर्द्धन र सेवा प्रवाह सुधारमा उल्लेखनीय काम भएको जनाएको छ।
**कानुन र नीति निर्माण**
मन्त्रालयका अनुसार जलस्रोत विधेयक र नवीकरणीय ऊर्जासम्बन्धी विधेयकको मस्यौदा तयार गरी कानुन मन्त्रालयमा पठाइएको छ। साथै ऊर्जा खपत वृद्धि तथा विद्युत् निर्यात रणनीति–२०८३, विद्युत् खरिद सम्झौता (पिपिए) समीक्षा प्रतिवेदन, अनुमतिपत्रसम्बन्धी समीक्षा प्रतिवेदन र ऊर्जा क्षेत्रको दीर्घकालीन वित्तीय व्यवस्थापनसम्बन्धी कार्ययोजना पनि तयार गरिएको छ।
**विद्युत् पूर्वाधार विस्तार**
यस अवधिमा १३८ मेगावाट उत्पादन क्षमता थपिएपछि राष्ट्रिय जडित क्षमता ४,२४२ मेगावाट पुगेको छ। ७९ सर्किट किलोमिटर राष्ट्रिय प्रसारण लाइन थपिएको छ भने ढल्केबर–बालगंगा, लालबन्दी–सलिमपुर, बाह्रबिसे–लप्सीफेदी र मार्कीचोक–भरतपुर लगायतका प्रसारण लाइन निर्माण सम्पन्न भएका छन्। न्यू बुटवल–लमही, दैलेख–कालिकोट–जुम्ला र बालकुमारी–ठिमी प्रसारण लाइनका लागि बोलपत्र आह्वान गरिएको छ।
मन्त्रालयका अनुसार करिब ४७२.४३२ गिगावाट घण्टा विद्युत् निर्यात गरिएको छ। थप १,५२३.१ मेगावाट बराबरका जलविद्युत् आयोजनालाई उत्पादन अनुमतिपत्र र १,५७१ मेगावाट बराबरका आयोजनालाई सर्वेक्षण अनुमतिपत्र जारी गरिएको छ।
**सेवा प्रवाहमा सुधार**
नेपाल विद्युत् प्राधिकरणले सेवा सुधारका लागि ‘एआई साथी’ च्याटबोट सञ्चालनमा ल्याएको छ र ‘नो लाइट साथी’ प्रणाली परीक्षणका रूपमा चलाइएको छ। नयाँ विद्युत् जडान तीन दिन, मिटर परिवर्तन एक दिन र नो–लाइट गुनासो एक दिनभित्र सम्बोधन गर्ने समयसीमामा आधारित सेवा प्रणाली लागू गरिएको छ।
कर्णाली प्रदेशको पूर्ण विद्युतीकरणका लागि वितरण लाइन विस्तार प्रक्रिया अघि बढाइएको छ। ५० हजार विद्युत् मिटर वितरण गरिसकिएको छ र थप चार लाख मिटर खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ।
**सिंचाइ विस्तार**
सिंचाइ क्षेत्रमा थप २,९४८ हेक्टर भूमिमा सिंचाइ सुविधा पुर्याइएको छ। विभिन्न नदीमा ३७.५ किलोमिटर तटबन्ध निर्माण गरी १४९ हेक्टर जमिन संरक्षण गरिएको छ। मधेश प्रदेशको सुख्खा समस्या समाधानका लागि नयाँ डिप ट्युबवेल जडान, मर्मत र प्रणाली निर्माण कार्य जारी रहेको मन्त्रालयले जनाएको छ।
**नवीकरणीय ऊर्जा र हरित ऊर्जा**
लघु तथा साना जलविद्युत् र सौर्य मिनिग्रिडमार्फत ग्रामीण क्षेत्रमा विद्युत् पहुँच विस्तार गरिएको छ। १३,४४२ किलोवाट बराबरको रूफटप सौर्य प्रणाली जडान भएको छ भने २८ हजार विद्युतीय चुलो, ४ हजार सुधारिएको चुलो र १,६१० वटा बायोग्यास प्लान्ट जडान गरिएको विवरणमा उल्लेख छ।
ग्रीन हाइड्रोजनसम्बन्धी अध्ययन अन्तिम चरणमा पुगेको छ। ग्रीन क्लाइमेट फन्ड (जिसिएफ) र अन्य अन्तर्राष्ट्रिय कोषमा करोडौं अमेरिकी डलर बराबरका परियोजना प्रस्ताव पेश गरिएको छ। कार्बन व्यापार नियमावली–२०८२ अन्तर्गत कार्बन राजस्व इकाइ पनि स्थापना गरिएको छ।
**विपद् व्यवस्थापन र वित्तीय प्रगति**
२०८३ सालको मनसुनलाई लक्षित गर्दै नदी नियन्त्रण, पहिरो व्यवस्थापन र बाढी पूर्वानुमान प्रणाली सुदृढ बनाइएको छ। जल तथा मौसम विज्ञान विभागले विशेष मौसम र बाढी बुलेटिनमार्फत समयमै सूचना प्रवाह गरी जनधनको क्षति न्यूनीकरणमा योगदान दिएको दाबी गरिएको छ।
चालु आर्थिक वर्षमा हालसम्म ४६.८२ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ भने ३२ प्रतिशत बेरुजु फर्छ्यौट गरिएको छ। मन्त्रालयमा जिआइओएम्एस् प्रणाली पूर्ण रूपमा लागू गरिएको छ र प्राप्त १८ हजार ७९६ गुनासामध्ये १८ हजार ३९८ गुनासो फर्छ्यौट भइसकेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले ऊर्जा सुरक्षा, विद्युत् निर्यात, हरित ऊर्जा प्रवर्द्धन, सिंचाइ विस्तार र सेवा प्रवाह सुधारलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
