काठमाडौं। फिफा विश्वकप फुटबलमा इजिप्टले रोमाञ्चक खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ।
डलास स्टेडियममा शनिबार बिहान भएको यस खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट पनि १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटबाट विजेता छुट्याइएको थियो। पेनाल्टीमा इजिप्टले ४–२ गोलले जित दर्ता गर्यो।
खेलको सुरुवात इजिप्टका लागि उत्साहजनक रह्यो। १३औँ मिनेटमै इमाम आशुरको हेडबाट गोल गर्दै इजिप्टले अग्रता लिएको थियो। तर दोस्रो हाफको ५५औँ मिनेटमा इजिप्टकै डिफेन्डर मोहम्मद हानीबाट आत्मघाती गोल भयो र अस्ट्रेलियाले खेल बराबरीमा ल्यायो।
त्यसपछिको अतिरिक्त समयमा पनि दुवै टोली गोल गर्न असफल रहेपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो, जहाँ इजिप्टका खेलाडीहरूले शानदार प्रदर्शन गर्दै ४–२ को जित हात पारे।
यस जितसँगै अन्तिम १६ मा स्थान पक्का गरेको इजिप्टले अब क्वार्टरफाइनलको टिकटका लागि अर्जेन्टिना र केप भर्डेबीचको खेलमा विजयी हुने टोलीसँग भिड्नेछ।
