काठमाडौं । प्रमुख विपक्षी नेता तथा संवैधानिक परिषद्का सदस्य भीष्मराज आङ्देम्बेले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्त सिफारिस प्रक्रियामा प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष बालेन्द्र शाह (बालेन)को कार्यशैलीप्रति कडा असन्तुष्टि जनाएका छन्।
शुक्रबार बसेको संवैधानिक परिषद् बैठकमा बोल्दै आङ्देम्बेले निर्वाचन आयोगजस्तो महत्त्वपूर्ण संवैधानिक निकाय लामो समयसम्म रिक्त राख्नु नहुने कुरामा आफ्नो सहमति रहेको बताए। तर उनले नियुक्ति प्रक्रिया अघि बढाउनुभन्दा पहिले परिषद्का सदस्यहरूसँग पर्याप्त छलफल हुनुपर्नेमा जोड दिए।
उनले प्रधानमन्त्रीलाई सोझै सम्बोधन गर्दै भने, ‘निर्वाचन आयोग रिक्त राख्नु हुँदैन, त्यसमा मेरो पनि सहमति छ। तर तपाईंको कार्यशैलीप्रति मेरो सैद्धान्तिक असहमति छ। प्रमुख आयुक्त र आयुक्त सिफारिसअघि परिषद्का सदस्यहरूसँग छलफल हुनुपर्थ्यो।’
प्रधानमन्त्री बालेनले आफूले परिषद्का सदस्यहरूसँग व्यक्तिगत रूपमा संवाद गर्ने प्रयास गरेको बताएका थिए। यसको जवाफमा आङ्देम्बेले प्रमुख विपक्षी नेता, सभामुख र राष्ट्रियसभा अध्यक्षसँग प्रत्यक्ष र औपचारिक छलफल हुनुपर्ने सुझाव दिए।
आङ्देम्बेले थपे, ‘प्रधानमन्त्री र संवैधानिक परिषद्का अध्यक्षको रूपमा हाम्रो चिनजान नै भएको छैन, व्यक्तिगत रूपमा मात्रै चिन्छु।’ उनले परिषद्का सदस्यहरूबीच नियमित संवाद र समन्वय अपरिहार्य रहेको धारणा राखे।
साथै उनले राष्ट्रपति र प्रधानमन्त्रीबीच पनि संवादको अभाव देखिएको उल्लेख गर्दै संवैधानिक परिषद्मा त्यही अवस्था दोहोरिन नहुने चेतावनी दिए।
बैठकमा आङ्देम्बेले पूर्वी नेपालका तमोर करिडोरअन्तर्गत पुल निर्माण, राँके–रवि–भेडेटार सडकखण्ड र माइखोला–इलाम सडकको समस्या समाधानतर्फ पनि प्रधानमन्त्रीको ध्यान आकर्षित गराए। जवाफमा प्रधानमन्त्री बालेनले भौतिक पूर्वाधारमन्त्रीलाई सम्बन्धित आयोजनाहरूको स्थलगत अनुगमन गर्न निर्देशन दिइसकेको जानकारी दिए।
