राजनिती

रास्वपाले सांसदलाई डिजिटल प्लेटफर्म ‘आरएसपीइआरएस’ बारे अभिमुखीकरण गर्दै

By अर्जुन भट्टराई •

रास्वपाले सांसदलाई डिजिटल प्लेटफर्म ‘आरएसपीइआरएस’ बारे अभिमुखीकरण गर्दै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने अभियानअन्तर्गत ‘आरएसपीइआरएस’ नामक डिजिटल प्लेटफर्म तयार पारेको छ। यही प्लेटफर्मको प्रयोगबारे प्रतिनिधिसभाका सांसदहरूलाई आज अभिमुखीकरण गरिँदैछ।

रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा आज बिहान १०ः३० बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दल कार्यालयमा यो अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सांसदहरूलाई आरएसपीइआरएस प्रणालीको प्रयोग विधिका साथै साइबर सुरक्षासम्बन्धी सचेतनाबारे पनि जानकारी दिइनेछ।

रास्वपाले यो बैठकपछि प्रत्येक सांसदले आफ्ना गतिविधि अनिवार्य रूपमा उक्त प्रणालीमा अद्यावधिक गर्नुपर्ने व्यवस्था मिलाएको छ। सांसदसँग भेटघाटका लागि अनलाइनबाटै समय लिन सकिने, संसदमा उठाउने विषयवस्तु प्रणालीमा नै प्रविष्ट गर्नुपर्ने, र निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाट तथा अन्य गतिविधिको विवरण पनि सोही पोर्टलमा राख्नुपर्ने नियम तय गरिएको छ।

यसका अतिरिक्त नागरिकले आफ्नो निर्वाचन क्षेत्रका सांसदलाई यही डिजिटल माध्यमबाट गुनासा र सुझाव दर्ता गर्न सक्नेछन्। ती गुनासाको ट्र्याकिङ हुने र सोही आधारमा सांसदको कार्यसम्पादन मूल्याङ्कन गर्न सकिने सुविधा पनि यस प्रणालीमा समावेश गरिएको रास्वपाले जनाएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.