राजनिती

रास्वपाले सांसदको उपस्थिति र कार्यसम्पादन डिजिटल रूपमा अभिलेख गर्ने, एआई दुरुपयोग र साइबर सुरक्षाबारे पनि भयो छलफल

By अर्जुन भट्टराई •

रास्वपाले सांसदको उपस्थिति र कार्यसम्पादन डिजिटल रूपमा अभिलेख गर्ने, एआई दुरुपयोग र साइबर सुरक्षाबारे पनि भयो छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्ना सांसदहरूको कार्यसम्पादन, गतिविधि र उपस्थितिको डिजिटल अभिलेख राख्ने प्रणाली तयार गर्दैछ। पार्टीलाई थप प्रविधिमैत्री बनाउने अभियानको हिस्साका रूपमा यो काम भइरहेको छ।

शुक्रबार प्रतिनिधिसभा सदस्यहरूलाई सो डिजिटल प्रणालीबारे जानकारी दिन र साइबर सुरक्षाप्रति सचेत बनाउन एक विशेष बैठक आयोजना गरिएको थियो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाकी सांसद क्रान्ति शिखा धितालले यो जानकारी दिइन्।

धितालका अनुसार बैठकमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको बढ्दो प्रयोगसँगै सामाजिक सञ्जालमा भ्रामक सामग्री र दुरुपयोगका घटना बढ्दै गएको विषयमा गम्भीर छलफल भयो।

उनले भनिन्, ‘आजभोलि सामाजिक सञ्जालमा एआईको प्रभाव र दबाब बढेको देखिन्छ। यसको प्रभाव कस्तो छ र यसबाट उत्पन्न चुनौतीलाई कसरी समाधान गर्न सकिन्छ भन्नेमा हामीले छलफल गर्यौं।’

पार्टीले बनाउन लागेको डिजिटल प्रणालीले सांसदहरूको कार्यशैली, जिम्मेवारी निर्वाह र दैनिक गतिविधिको व्यवस्थित अभिलेख राख्नेछ। यसले सांसदहरूको ‘ट्र्याक रेकर्ड’ कायम गर्न र कार्यसम्पादन मूल्याङ्कनका सूचक (प्यारामिटर) तयार गर्न सहज हुने धितालको भनाइ छ।

साइबर अपराधको विषयमा उनले भनिन् कि नीतिगत रूपमा काम भइरहे पनि सबैभन्दा जरुरी कुरा भनेको नागरिक र जनप्रतिनिधिमा सचेतना बढाउनु हो।

‘सबैभन्दा पहिले आफूमाथि साइबर अपराध भइरहेको छ भन्ने बुझ्नु जरुरी छ। यसको असर र परिणामबारे धेरैलाई थाहा हुँदैन, थाहा भए पनि खुलेर बोल्ने अवस्था हुँदैन। त्यसैले सचेतना अत्यन्त आवश्यक छ,’ उनले थपिन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.