राजनिती

प्रदेश संरचना बोझिलो होइन, प्रभावकारी बनाउनुपर्छ : सभापति लामिछाने

By अर्जुन भट्टराई •

प्रदेश संरचना बोझिलो होइन, प्रभावकारी बनाउनुपर्छ : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले खोला किनारमा बस्ने नागरिकको व्यवस्थापनका क्रममा केही कठिनाइ भए पनि दीर्घकालीन रूपमा यसको नतिजा सकारात्मक हुने विश्वास व्यक्त गरेका छन्।

शुक्रबार पार्टीका सांसदहरूसँगको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘खोला नजिक बसेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने वा वैकल्पिक जग्गा दिने प्रयास विगतका वर्षहरूमा विभिन्न तरिकाबाट भएका थिए। सबैले यसको आवश्यकता महसुस गरेका थिए, कुनै पनि दल यसको विपक्षमा थिएन। तर ती उपाय प्रभावकारी हुन सकेनन्, त्यसैले अहिले नयाँ प्रक्रिया अपनाइएको हो।’

लामिछानेले नयाँ प्रक्रियाका कारण नागरिकलाई केही समयका लागि दुःख परेको स्वीकार गर्दै भने, ‘यसबाट नागरिकलाई दुःख भएन भन्ने म भन्दिनँ। तर परिणाम राम्रो आयो भने अहिलेको दुःख बिर्सिने अवस्था आउँछ। लामो समयदेखि भोग्दै आएको समस्याको तुलनामा दुई–चार महिनाको दुःखपछि उहाँहरूले राम्रो प्रतिफल पाउनुहुन्छ भन्नेमा म निर्धक्क छु।’

संविधान संशोधनको विषयमा बोल्दै लामिछानेले प्रदेश संरचनालाई थप प्रभावकारी बनाउने सन्दर्भमा खुला बहस हुनु आवश्यक रहेको बताए। उनले भने, ‘प्रदेश संरचनालाई पुनर्संरचना गर्नुपर्छ भन्ने महसुस सबैले गरेका छन्। हाम्रो भनाइ यसलाई बोझिलो होइन, प्रभावकारी बनाउने विषयमा सोच्नुपर्छ भन्ने हो। यसलाई बहसको विषय बनाऔँ भनेर रास्वपाले प्रस्ताव गरेको हो।’

लामिछानेका अनुसार संविधान संशोधनको बहसमा प्रदेश संरचना एउटा महत्वपूर्ण विषय हो र यसमा सर्वदलीय सहमतिका साथ छलफल हुनु जरुरी छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.