काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलपम्प सञ्चालकलाई थप अनुशासित बनाउन कडा कानूनी व्यवस्था गरेको छ। पेट्रोलियम पदार्थ बिक्रेता बिनियमावलीमा संशोधन गरी अब उचित कारण बिना पम्प बन्द गर्ने व्यवसायीलाई तीन लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना र ५ देखि १५ दिनसम्म इन्धन आपूर्ती रोक्काको व्यवस्था गरिएको छ।
यो कदम उठाउनुको पछाडि बुधबारको घटना मुख्य कारण बन्यो। मूल्य घट्ने अनुमान गर्दै पेट्रोलियम व्यवसायीहरूले मंगलबार आयल निगमको डिपोबाट तेल नउठाएका थिए, जसले गर्दा बुधबार बिहानदेखि दिनभर देशभर इन्धन आपूर्ती अस्तव्यस्त भयो। यस्तो स्थितिमा व्यवसायीलाई कारबाही गर्ने कुनै कानूनी आधार नभेटिएपछि उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री गौरीकुमारी यादवले बुधबार साँझ नै नयाँ कानूनी व्यवस्था बनाउन निर्देशन दिइन्।
मन्त्रीको निर्देशनपछि तुरुन्तै बुधबार साँझ निगमको सञ्चालक समिति बैठक बसेर पेट्रोलियम पदार्थ बिक्रेता बिनियमावली, ०७५ को दफा २९ घ (१) मा ‘बिक्रेताले नोजल सुख्खा (ड्राई) गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने’ भन्ने वाक्य थपियो।
नयाँ व्यवस्था अनुसार पहिलो पटक यस्तो कसुर गरेमा ३ लाख रुपैयाँ जरिवाना र ५ दिनसम्म डिपोबाट इन्धन आपूर्ती रोक्का गरिनेछ। दोस्रो पटक दोहोरिएमा ६ लाख जरिवानासहित १० दिन आपूर्ती बन्द गरिनेछ। तेस्रो पटक कसुर भएमा १० लाख जरिवाना लिई १५ दिनका लागि आपूर्ती पूर्णतः बन्द गरिनेछ। यस व्यवस्थाले आगामी दिनमा कुनै पनि पेट्रोलपम्प उचित कारण बिना बन्द गर्न नपाइने सुनिश्चित भएको छ।
