राजनिती

दार्चुला पुल उद्घाटनपछि साम्पाङ बोले : महाकालीमा थप पुल बनाउन भारतको लिखित सहमति चाहिन्छ

By अर्जुन भट्टराई •

दार्चुला पुल उद्घाटनपछि साम्पाङ बोले : महाकालीमा थप पुल बनाउन भारतको लिखित सहमति चाहिन्छ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले दार्चुलाको दुम्लिङमा निर्मित झोलुङ्गे पुलको उद्घाटन गरेर काठमाडौं फर्किएका छन् । उक्त पुल मात्र ८५ दिनमा निर्माण सम्पन्न गरिएको हो ।

काठमाडौं आइपुगेपछि सञ्चारकर्मीसँग कुरा गर्दै साम्पाङले भने, ‘पुल स्थानीयको मागअनुसार बनाइएको हो, उद्घाटन गर्न पाउँदा साँच्चै खुसी लाग्यो ।’ उनले दुम्लिङ क्षेत्र अत्यन्त विकट रहेको र त्यहाँ सडक तथा सञ्चार पूर्वाधार अझै पर्याप्त नभएको बताए । नेपाली सेनाले सडक स्तरोन्नतिको काम गरिरहेको र दूरसञ्चार सेवा विस्तारका प्रयास भइरहेको जानकारी आफूले पाएको पनि उनले जानकारी दिए ।

महाकाली नदीमा थप पुल बनाउने विषयमा साम्पाङले भारतको लिखित सहमति अनिवार्य रहेको स्पष्ट पारे । ‘भारतको लिखित सहमति आएपछि मात्रै त्यहाँ पुल बनाउन सकिन्छ,’ उनले भने र यस सम्बन्धमा परराष्ट्र मन्त्रालयलाई पटक–पटक आग्रह गरिएको जानकारी दिए ।

तिङ्कर क्षेत्रमा नेपालीतर्फ सडक नहुँदा स्थानीय बासिन्दा भारतीय भूभाग हुँदै आवतजावत गर्न बाध्य भएको उल्लेख गर्दै उनले नेपाली भूभागमै सडक निर्माणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने माग गरे ।

सरकारको कार्यसम्पादनबारे प्रश्न गर्दा साम्पाङले भने, ‘कोसिस भएको छ, तर त्यसको परिणाम जनताले महसुस गर्न सकेका छैनन् । महँगी नियन्त्रणमा सरकारले अझ प्रभावकारी काम गर्नुपर्छ ।’

साइबर कानुन संशोधनको विषयमा उनले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कानुन लोकतन्त्रको मर्मविपरीत हुने बताए । ‘तथ्य र प्रमाणका आधारमा विरोध गर्न पाउनु लोकतान्त्रिक अधिकार हो, विरोध गर्नै नपाउने कानुन बनाउनु हुँदैन,’ उनले भने ।

पुल निर्माणको श्रेयको विषयमा साम्पाङले भने, ‘राम्रो कामको जस सबैले लिनुपर्छ, नराम्रो कामको जिम्मेवारी पनि सबैले बहन गर्नुपर्छ ।’ विकास निर्माण सामूहिक प्रयासबाट मात्र सम्भव हुने धारणा पनि उनले व्यक्त गरे ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.