राजनिती

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं : धवलशम्शेर राणा

By अर्जुन भट्टराई •

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं : धवलशम्शेर राणा

काठमाडौं। नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता दबाउने गरी कुनै कानुन ल्याइए आन्दोलनमा उत्रिने कडा चेतावनी दिएका छन्।

शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले भने, ‘गणतन्त्र र संघीयताको विरोध गर्नु हाम्रो राजनीतिक अधिकार हो। राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, राजावादी, हिन्दुवादी तथा संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं। लाखौंको संख्यामा जेल जान हामी तयार छौं।’

राणाले आफूहरू संवैधानिक राजतन्त्र, सनातन धर्म, किराँत र बौद्ध धर्मलाई समेट्ने हिन्दु अधिराज्य स्थापनाको लक्ष्यसहित नयाँ राजनीतिक शक्ति निर्माणमा लागेको बताए। सरकारले नागरिकको मौलिक अधिकारमाथि हस्तक्षेप नगर्न आग्रह गर्दै उनले यस्तो कानुन ल्याइए नेपाली जनता चुप नलाग्ने स्पष्ट पारे।

दुर्गा प्रसाईं आफ्नो कार्यक्रममा अनुपस्थित रहेको विषयमा राणाले कुनै मनमुटाव नरहेको जानकारी दिए। ‘उहाँ सुकुम्बासीहरूसँगको कार्यक्रममा जानुभएको हो। हामीबीच कुनै मतभेद छैन, हामी एउटै एजेन्डामा छौं,’ उनले भने।

नयाँ पार्टी गठनको विषयमा राणाले यसै महिनाभित्र पार्टी दर्ता गरिने र अर्को महिना औपचारिक घोषणा सभा आयोजना गरिने जानकारी दिए। विभिन्न राष्ट्रवादी र राजावादी शक्तिलाई एकताबद्ध गरेर बन्ने यो पार्टी स्थानीय तहको निर्वाचनमा बलियो रूपमा सहभागी हुने तयारीमा रहेको उनले बताए।

प्रधानमन्त्रीले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गरे स्वागत गर्ने भए पनि अहिलेको सरकारका गतिविधि हेर्दा त्यस्तो संकेत नदेखिएको उनको टिप्पणी थियो। ‘राजतन्त्र र हिन्दु राष्ट्र कायम गरिए हामी स्वागत गर्छौं, तर अहिले सरकारका गतिविधिले त्यस्तो संकेत देखाउँदैन,’ उनले भने।

राणाले देशभरका राष्ट्रवादी, राजावादी र हिन्दुवादी नागरिकलाई यो नयाँ पार्टीमा आबद्ध हुन आह्वान गर्दै यसलाई व्यक्तिको नभई विचारको पार्टी बनाउने अभियानमा सबैको साथ आवश्यक रहेको बताए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.