राजनिती

जनताको आकांक्षा पूरा गर्न सञ्चारमन्त्री तिमिल्सिनाको कडा निर्देशन

By अर्जुन भट्टराई •

जनताको आकांक्षा पूरा गर्न सञ्चारमन्त्री तिमिल्सिनाको कडा निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सार्वजनिक संस्थानहरूले जनताको अपेक्षा र आकांक्षा पूरा हुने गरी जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताएका छन्।

शुक्रबार मन्त्रालयमा नियुक्तिपत्र प्रदान गर्ने कार्यक्रममा मन्त्री तिमिल्सिनाले गोरखापत्र संस्थानका नवनियुक्त महाप्रबन्धक हिक्मतबहादुर रावल र सुरक्षण मुद्रण केन्द्रका नवनियुक्त कार्यकारी निर्देशक देवराज ढुंगानालाई संस्थागत सुशासन, पारदर्शिता र कानुनसम्मत कार्यसम्पादनलाई प्राथमिकतामा राख्न निर्देशन दिए।

मन्त्री तिमिल्सिनाले गोरखापत्र संस्थानलाई ऐतिहासिक र सुरक्षण मुद्रण केन्द्रलाई रणनीतिक महत्वको संस्था भएको उल्लेख गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थाको संरक्षण, सुदृढीकरण र विकासमा ध्यान दिन आग्रह गरे। आग्रह–पूर्वाग्रहबाट मुक्त भई विधि, विधान र कानुनअनुसार संस्था सञ्चालन गर्न पनि उनले जोड दिए।

केवल जागिर खाने मानसिकतामा सीमित नरही संस्थाको क्षमता अभिवृद्धि, सेवा विस्तार र दीर्घकालीन विकासमा केन्द्रित हुनुपर्नेमा उनले विशेष जोड दिए। साथै मन्त्रालयले दुवै संस्थाको सुधार, सुदृढीकरण र प्रभावकारी सञ्चालनका लागि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

उल्लेख्य छ, असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कैलालीका हिक्मतबहादुर रावललाई चार वर्षका लागि गोरखापत्र संस्थानको महाप्रबन्धक र मोरङका देवराज ढुंगानालाई बढीमा पाँच वर्षका लागि सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो।

नवनियुक्त महाप्रबन्धक रावलले सरकारको सुशासन, विकास र प्रभावकारी सेवा प्रवाहको लक्ष्यलाई संस्थागत रूपमा कार्यान्वयन गर्दै गोरखापत्र संस्थानलाई समयानुकूल, व्यावसायिक र विश्वसनीय सञ्चार संस्थाको रूपमा थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे। संस्थाको गरिमा, विश्वसनीयता र पाठकमैत्री सेवामा विशेष ध्यान दिइने पनि उनले बताए।

सुरक्षण मुद्रण केन्द्रका नवनियुक्त कार्यकारी निर्देशक ढुंगानाले विगतमा केन्द्रमा आर्थिक अनियमिततासम्बन्धी प्रश्न उठ्ने गरेको स्वीकार गर्दै अब संस्थालाई पूर्ण पारदर्शी, आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउने दिशामा काम गर्ने प्रतिबद्धता जनाए। नैतिकता, व्यावसायिकता, सुशासन र निरन्तर सुधारलाई प्राथमिकता दिँदै वित्तीय अनुशासन, आधुनिक व्यवस्थापन प्रणाली र प्रभावकारी सेवा प्रवाहमार्फत केन्द्रको विश्वसनीयता अझ मजबुत बनाइने उनको भनाइ थियो।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.