काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सार्वजनिक संस्थानहरूले जनताको अपेक्षा र आकांक्षा पूरा हुने गरी जिम्मेवारीपूर्वक काम गर्नुपर्ने निर्देशन दिएका छन्।
शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री तिमिल्सिनाले गोरखापत्र संस्थानका नवनियुक्त महाप्रबन्धक हिक्मतबहादुर रावल र सुरक्षण मुद्रण केन्द्रका नवनियुक्त कार्यकारी निर्देशक देवराज ढुंगानालाई नियुक्तिपत्र प्रदान गरे। यस अवसरमा उनले संस्थागत सुशासन, पारदर्शिता र कानुनसम्मत कार्यसम्पादनलाई प्राथमिकतामा राख्न दुवै पदाधिकारीलाई निर्देशन दिए।
मन्त्री तिमिल्सिनाले गोरखापत्र संस्थानलाई ऐतिहासिक र सुरक्षण मुद्रण केन्द्रलाई रणनीतिक महत्वको संस्था भएको उल्लेख गर्दै यी संस्थाहरूलाई व्यक्तिगत स्वार्थभन्दा माथि राखेर संरक्षण, सुदृढीकरण र विकास गर्नुपर्नेमा जोड दिए। उनले आग्रह र पूर्वाग्रहबाट मुक्त भई विधि, विधान र कानुनअनुसार संस्था सञ्चालन गर्न पनि निर्देशन दिए।
साथै उनले केवल जागिर खाने मानसिकतामा सीमित नभई संस्थाको क्षमता अभिवृद्धि, सेवा विस्तार र दीर्घकालीन विकासमा ध्यान दिनुपर्नेमा जोड दिए। मन्त्रालयले दुवै संस्थाको सुधार, सुदृढीकरण र प्रभावकारी सञ्चालनका लागि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
उल्लेखनीय छ, असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कैलालीका हिक्मतबहादुर रावललाई चार वर्षका लागि गोरखापत्र संस्थानको महाप्रबन्धक र मोरङका देवराज ढुंगानालाई बढीमा पाँच वर्षका लागि सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो।
नवनियुक्त महाप्रबन्धक रावलले गोरखापत्र संस्थानलाई समयानुकूल, व्यावसायिक र विश्वसनीय सञ्चार संस्थाको रूपमा थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले संस्थाको गरिमा, विश्वसनीयता र पाठकमैत्री सेवामा विशेष ध्यान दिइने बताए।
सुरक्षण मुद्रण केन्द्रका नवनियुक्त कार्यकारी निर्देशक ढुंगानाले भने विगतमा केन्द्रमा आर्थिक अनियमिततासम्बन्धी प्रश्न उठ्ने गरेको स्वीकार गर्दै अब संस्थालाई पूर्ण पारदर्शी, आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउने दिशामा काम गर्ने प्रतिबद्धता जनाए। उनले नैतिकता, व्यावसायिकता, सुशासन र वित्तीय अनुशासनलाई प्राथमिकतामा राख्दै आधुनिक व्यवस्थापन प्रणालीमार्फत केन्द्रको विश्वसनीयता अझ मजबुत बनाइने बताए।
