राजनिती

जनताको आकांक्षा पूरा गर्न सञ्चारमन्त्री तिमिल्सिनाको कडा निर्देशन

By अर्जुन भट्टराई •

जनताको आकांक्षा पूरा गर्न सञ्चारमन्त्री तिमिल्सिनाको कडा निर्देशन

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सार्वजनिक संस्थानहरूले जनताको अपेक्षा र आकांक्षा पूरा हुने गरी जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताएका छन्।

शुक्रबार मन्त्रालयमा नियुक्तिपत्र प्रदान गर्ने कार्यक्रममा मन्त्री तिमिल्सिनाले गोरखापत्र संस्थानका नवनियुक्त महाप्रबन्धक हिक्मतबहादुर रावल र सुरक्षण मुद्रण केन्द्रका नवनियुक्त कार्यकारी निर्देशक देवराज ढुंगानालाई संस्थागत सुशासन, पारदर्शिता र कानुनसम्मत कार्यसम्पादनलाई प्राथमिकतामा राख्न निर्देशन दिए।

मन्त्री तिमिल्सिनाले गोरखापत्र संस्थानलाई ऐतिहासिक र सुरक्षण मुद्रण केन्द्रलाई रणनीतिक महत्वको संस्था भएको उल्लेख गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थाको संरक्षण, सुदृढीकरण र विकासमा ध्यान दिन आग्रह गरे। आग्रह-पूर्वाग्रहबाट मुक्त भई विधि, विधान र कानुनबमोजिम संस्था सञ्चालन गर्न पनि उनले निर्देशन दिए।

उनले केवल जागिर खाने मानसिकतामा सीमित नभई संस्थाको क्षमता अभिवृद्धि, सेवा विस्तार र दीर्घकालीन विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिए। साथै मन्त्रालयले दुवै संस्थाको सुधार र प्रभावकारी सञ्चालनका लागि आवश्यक सहयोग तथा सहकार्य जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरे।

उल्लेखनीय छ, असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कैलालीका हिक्मतबहादुर रावललाई चार वर्षका लागि गोरखापत्र संस्थानको महाप्रबन्धक र मोरङका देवराज ढुंगानालाई बढीमा पाँच वर्षका लागि सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो।

नवनियुक्त महाप्रबन्धक रावलले गोरखापत्र संस्थानलाई समयानुकूल, व्यावसायिक र विश्वसनीय सञ्चार संस्थाका रूपमा थप सशक्त बनाउने प्रतिबद्धता जनाए। संस्थाको गरिमा, विश्वसनीयता र पाठकमैत्री सेवामा विशेष ध्यान दिइने पनि उनले बताए।

त्यसैगरी, कार्यकारी निर्देशक ढुंगानाले विगतमा सुरक्षण मुद्रण केन्द्रमा आर्थिक अनियमिततासम्बन्धी प्रश्न उठ्ने गरेको स्वीकार गर्दै अब संस्थालाई पूर्ण पारदर्शी, आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउने दिशामा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। नैतिकता, व्यावसायिकता, सुशासन र वित्तीय अनुशासनलाई प्राथमिकतामा राखेर केन्द्रको विश्वसनीयता अझ मजबुत बनाइने उनको भनाइ थियो।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.