राजनिती

सुकुम्बासी समस्या समाधान र सहकारी सुधारतर्फ सरकारको पहिलो कदम : सांसद प्रसाईं

By अर्जुन भट्टराई •

सुकुम्बासी समस्या समाधान र सहकारी सुधारतर्फ सरकारको पहिलो कदम : सांसद प्रसाईं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले सरकारले सुकुम्बासी समस्या समाधान, सहकारी क्षेत्र सुधार, सार्वजनिक खरिद प्रणाली व्यवस्थित गर्ने र सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण कदम चालेको बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकपछि संसद् भवन परिसरमा पत्रकारसँग कुरा गर्दै सांसद प्रसाईंले आम नागरिकका लागि दुईवटा खुसीका खबर रहेको जानकारी दिए।

उनले भने, ‘चुनावका बेला जनतासँग गरेको प्रतिबद्धताअनुसार सुकुम्बासी समस्या समाधान गर्ने दिशामा पहिलो कदम चालिएको छ। आजदेखि बर्दियाको बढैयाताल गाउँपालिका–४ मा २९ परिवारलाई लालपुर्जा वितरण गरेर अव्यवस्थित बसोबासी समस्या समाधानको अभियान सुरु गरिएको छ।’

सांसद प्रसाईंले यस कार्यका लागि प्रधानमन्त्री र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको नेतृत्वको प्रशंसा गर्दै सरकार प्रतिबद्धताअनुसार अघि बढिरहेको दाबी गरे।

दोस्रो खुसीको खबरका रूपमा उनले प्रतिनिधिसभाबाट तीनवटा महत्वपूर्ण विधेयक पारित भएको उल्लेख गरे। उनका अनुसार सहकारी ऐन संशोधन विधेयक पारित भएको छ, जसले समस्याग्रस्त सहकारीको समाधान गर्न र भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कानुनी आधार तयार गर्नेछ।

सार्वजनिक खरिद ऐन संशोधनले विकास आयोजनामा देखिएको ढिलासुस्ती र ठेक्का प्रणालीको अव्यवस्था अन्त्य गर्न सहयोग पुग्ने उनको विश्वास छ।

तेस्रो विधेयकका रूपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन पनि संशोधन गरिएको उनले जानकारी दिए। उनका अनुसार यस संशोधनले कालो र अवैध सम्पत्तिलाई कानुनअनुसार नियन्त्रण गर्न मद्दत गर्नेछ र नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था एफएटीएफको ग्रे लिस्टबाट बाहिर निकाल्ने प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्नेछ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.