राजनिती

प्रतिनिधि सभा बैठक आज बस्दै, तीन महत्त्वपूर्ण विधेयक पारित हुने

By अर्जुन भट्टराई •

प्रतिनिधि सभा बैठक आज बस्दै, तीन महत्त्वपूर्ण विधेयक पारित हुने

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहीबर बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ । बैठकमा धेरै महत्त्वपूर्ण कार्यसूचीहरू समेटिएका छन्।

बैठकमा सर्वप्रथम सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा सदनलाई पढेर सुनाउने छन्।

त्यसपछि प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल भएको जानकारी दिने प्रस्ताव पेश गर्नेछिन्। साथै, सो विधेयकमाथि प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गरी विधेयक पारित गर्न प्रस्ताव राख्ने कार्यसूची रहेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल भएको प्रस्ताव पेश गर्नेछन्। यस विधेयकमा परेका संशोधनहरूलाई निर्णयार्थ राखी विधेयक पारित गर्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत हुनेछ।

यस्तै, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने प्रस्ताव पेश गर्नेछिन्। सो विधेयकमाथि प्राप्त संशोधनहरू निर्णयार्थ राखी विधेयक पारित गर्ने कार्यसूची पनि बैठकमा समावेश छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.