राजनिती

विश्व शक्ति संघर्षले नयाँ युद्धको खतरा बढायो : मोहनविक्रम सिंह

By अर्जुन भट्टराई •

विश्व शक्ति संघर्षले नयाँ युद्धको खतरा बढायो : मोहनविक्रम सिंह

काठमाडौं । अखिल नेपाल बुद्धिजीवी सङ्घले काठमाडौंमा ‘वर्तमान विश्वमा युद्ध र शान्तिका समस्याहरू’ विषयमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले तयार पारेको अवधारणापत्र सार्वजनिक गरियो ।

अवधारणापत्रमा हालको विश्व परिस्थितिलाई अत्यन्त तनावपूर्ण र द्वन्द्वग्रस्त भएको बताइएको छ । युक्रेन, गाजा, सुडान, म्यानमार र अफगानिस्तानमा जारी युद्धका साथै ताइवान, तिब्बत, भारत–पाकिस्तान र भारत–चीन सीमा क्षेत्रमा बढ्दो तनावले विश्वको सुरक्षा अवस्था झनै जटिल बन्दै गएको उल्लेख छ ।

पत्रमा चेतावनी दिइएको छ कि यी द्वन्द्वहरू जुनसुकै बेला ठूलो युद्ध वा आणविक संघर्षमा परिणत हुन सक्छन् । त्यसैले विश्वभरका शान्तिप्रेमी व्यक्ति र संस्थाहरूले युद्धको जोखिम घटाउन र दीर्घकालीन शान्ति कायम गर्न सक्रिय भूमिका निभाउनु आवश्यक रहेको जोड दिइएको छ ।

युद्धको मूल कारणका रूपमा अन्तर्राष्ट्रिय शक्ति प्रतिस्पर्धा र साम्राज्यवादी नीतिहरूलाई औंल्याइएको छ । ऐतिहासिक रूपमा शोषण र उत्पीडनले हिंसा र द्वन्द्वलाई जन्म दिएको तर्क राख्दै उत्पीडनविरुद्धका संघर्षलाई ‘न्यायपूर्ण संघर्ष’ को रूपमा व्याख्या गरिएको छ र सबै युद्धलाई एउटै दृष्टिले हेर्न नहुने धारणा पनि अघि सारिएको छ ।

नेपालको सन्दर्भमा, देश कहिल्यै औपनिवेशिक शासनमा नपरेको उल्लेख गर्दै आधुनिक इतिहासका युद्धहरू र नेपाली सेनाको विभिन्न अन्तर्राष्ट्रिय युद्धमा सहभागिताबारे चर्चा गरिएको छ । साथै, वर्तमान परिस्थितिमा नेपाल अन्तर्राष्ट्रिय शक्ति प्रतिस्पर्धाको कारण भविष्यमा द्वन्द्वमा तानिन सक्ने जोखिम रहेकाले सचेत रहनुपर्ने बताइएको छ ।

संयुक्त राज्य अमेरिका र चीनबीचको बढ्दो रणनीतिक प्रतिस्पर्धालाई विश्व राजनीतिको प्रमुख निर्धारक तत्त्वको रूपमा प्रस्तुत गर्दै इन्डो–प्यासिफिक रणनीति र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जस्ता पहलहरू यसी प्रतिस्पर्धाको हिस्सा भएको दाबी गरिएको छ ।

नेपालले सबै प्रमुख शक्ति राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध राख्नुपर्नेमा जोड दिँदै कुनै पनि देशको रणनीतिक खेलमा नेपाल प्रयोग हुन नहुने चेतावनी दिइएको छ । अन्तमा, विश्वभर युद्ध, साम्राज्यवाद र फासीवादी प्रवृत्तिहरूविरुद्ध शान्तिपूर्ण, जनमुखी र अन्तर्राष्ट्रिय एकतामा आधारित आन्दोलन आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.