काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले राष्ट्रिय बाल अधिकार परिषद्मा आकस्मिक अनुगमन गर्दै नौं बुँदे निर्देशन जारी गरेकी छन्।
बिहीबार बिहान मन्त्री बादी आफ्नो मन्त्रालय र सचिवालयको टोलीसहित परिषद्को पुल्चोकस्थित कार्यालयमा अचानक पुगिन्। उनको आगमनबारे पूर्वसूचना नपाएकाले परिषद्का कर्मचारी आश्चर्यमा परे।
यस अवसरमा मन्त्री बादीले बालबालिकाको संरक्षण, बाल अधिकार प्रवद्र्धन र संस्थागत सुधारका विषयमा परिषद्लाई आवश्यक निर्देशन दिइन्। विशेष गरी जोखिममा रहेका बालगृहबाट बालबालिकाको उद्धार तथा व्यवस्थापनमा परिषद्को कार्यसम्पादन सन्तोषजनक नरहेको भन्दै उनले असन्तुष्टि जनाइन्।
कर्मचारीहरूलाई सम्बोधन गर्दै मन्त्री बादीले भनिन्, ‘बालगृहका नाममा बालबालिका थप जोखिममा परिरहेका छन्। यो अवस्थाबाट अब हामीले हाम्रा बालबालिकालाई जोगाउनुपर्छ। अर्को निर्णय नभएसम्म नयाँ बालगृह खोल्ने अनुमति प्रदान नगर्नुहोस्।’
साथै मन्त्री बादीले परिषद्मा कार्यरत सम्पूर्ण कर्मचारीको कार्यविवरण र सम्झौता भएका कागजातसहित आफूले पदभार ग्रहण गरेको दिनदेखि असार १८ गतेसम्म सम्पादन भएका सबै कार्यहरूको विवरण ७ दिनभित्र आफूसमक्ष पेस गर्न निर्देशन दिएकी छन्।
