जनकपुर। मधेश प्रदेश सभाको बैठक विहीबार लगातार दोस्रो दिन पनि अवरुद्ध भयो। सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित गरिएको घोषणा गरेका छन्।
बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले संसद अवरुद्ध गरे। जनमत पार्टीका सांसद संजय यादवले प्रदेश सरकारले १ करोड रुपैयाँभन्दा कमका योजना नल्याउने घोषणा गरेको भए पनि रेडबुकमा साना-साना टुक्रा योजनाहरू राखिएको भन्दै विरोध जनाए। उनले बजेट पुनर्लेखन नभएसम्म सम्पूर्ण विपक्षी दलहरूले संसद अवरुद्ध गर्ने चेतावनी दिए।
सांसद उपेन्द्र महतोले हालको मधेश प्रदेश सरकारले संघीयता समाप्त पार्ने रोडम्याप तयार गरेको आरोप लगाए। उनले प्रदेशको अर्थतन्त्रलाई नै ध्वस्त पार्ने दिशामा सरकार लागि परेको भन्दै तीव्र आपत्ति जनाए।
सांसद महतोले रौतहटमा १ अर्ब ६६ करोड रुपैयाँको एउटा टेन्डर आह्वान गरिएकोमा पनि प्रश्न उठाए। उनका अनुसार रेडबुकमा नै नरहेको योजनाको टेन्डर गरिएको छ र मन्त्रालयहरूले पाउने भन्दा बढी रकमको टेन्डर भएकाले आउने दिनमा प्रदेशको खर्च थप बढ्ने उनले बताए।
उनले मुख्यमन्त्री कृष्ण यादवलाई सोधे — संघीयता नै समाप्त पार्ने गरी कार्य कहाँबाट गर्न खोजिएको हो? साथै उनले मुख्यमन्त्री यादवलाई सत्तारूढ नेकपा माओवादी र नेकपा एमालेले पनि साथ दिइरहेको र नेपाली कांग्रेस ‘लासको पार्टी’ भएको आरोप लगाए।
बुधबारको बैठकमा पनि विपक्षी दलहरूको विरोधका कारण बैठक स्थगित भएको थियो। अब अर्को बैठक कहिले बस्ने भन्ने अझै निश्चित छैन।
