काठमाडौं । नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढाले वर्तमान सरकारको सुशासन र संवैधानिक निकायहरूको स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले पासपोर्ट छपाइ तथा खरिद प्रक्रियासम्बन्धी विवादले देशमा सुशासन र कानुनी शासनमाथि प्रश्नचिह्न खडा गरेको बताए ।
उनले भने, ‘पासपोर्ट छपाइसँग जोडिएर जेजस्ता विषय बाहिर आएका छन्, यसले देशमा सुशासन र कानुनी राज्यमाथि गम्भीर प्रश्न उठाएको छ। नेपाली कांग्रेस स्पष्ट पार्न चाहन्छ — यसमा कुनै अनियमितता भएको प्रमाणित भएमा जोसुकै भए पनि, हाम्रै पार्टीका नेता वा मन्त्री किन नहुन्, कारबाहीको दायरामा आउनुपर्छ। निष्पक्ष र कानुनसम्मत छानबिनमा हाम्रो पूर्ण साथ रहनेछ।’
सांसद बुढाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा बन्धकजस्तो बनाएर धम्की दिइएको भन्ने सञ्चारमाध्यमका समाचारप्रति पनि गहिरो चिन्ता व्यक्त गरे। उनले भने कि यस विषयलाई स्वयं प्रधानमन्त्रीले चितवनको एक सभामा स्वीकार गरिसकेका छन् ।
उनले थपे, ‘हाम्रो संविधानले अख्तियारलाई यसकारण शक्तिशाली संवैधानिक निकायको रूपमा परिकल्पना गरेको हो कि यसले प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्म सबैमाथि निडरतापूर्वक छानबिन गर्न सकोस्। तर प्रधानमन्त्रीका सल्लाहकारले नै संवैधानिक निकायका प्रमुखलाई बन्धक बनाएर धम्की दिने काम हुन्छ भने त्यस्तो अख्तियारले सरकारको निष्पक्ष छानबिन कसरी गर्न सक्छ?’
उनले पासपोर्ट छपाइको पुरानो सम्झौता खारेज गरी महँगो दरमा पुरानै कम्पनीलाई काम दिन दबाब दिइएको भन्ने समाचारप्रति पनि आपत्ति जनाए र यसलाई भ्रष्टाचारको संकेत भन्दै गम्भीर छानबिनको माग गरे ।
अन्तमा सांसद बुढाले सरकारलाई संविधान र कानुनको दायरामा रहेर काम गर्न आग्रह गर्दै सुशासनको नाममा अनियमितता र शक्तिको दुरुपयोग कुनै हालतमा स्वीकार्य नहुने चेतावनी दिए।
