राजनिती

इमेज सहकारीका बचतकर्ताको रकम फिर्ताबारे सांसद शर्माले माग्यो सरकारसँग स्पष्ट जवाफ

By अर्जुन भट्टराई •

इमेज सहकारीका बचतकर्ताको रकम फिर्ताबारे सांसद शर्माले माग्यो सरकारसँग स्पष्ट जवाफ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता हुन्छ भन्ने विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभामा ‘सहकारी ऐन (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको छलफलमा बोल्दै सांसद शर्माले भने, ‘हाम्रो चासो केवल निर्दोष बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाउने कानुनी सुनिश्चिततासँग मात्र सम्बन्धित छ।’

उनले बताए कि बाग्लुङस्थित इमेज सहकारीमा दुई अर्ब रुपैयाँभन्दा बढी बचतकर्ताको रकम जम्मा थियो। तीमध्ये करिब ८० प्रतिशत बचतकर्ताको रकम सम्बन्धित सम्पत्तिबाट भुक्तानी गरिने आधारसहित तमसुकसमेत भइसकेको छ। तर उक्त सम्पत्ति हाल रोक्का रहेको छ र सहकारीका अध्यक्ष देवकुमार नेपाली सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दामा बाग्लुङ जिल्ला कारागारमा थुनामा छन्।

यस्तो जटिल परिस्थितिमा बचतकर्ताको एउटै प्रश्न छ— हाम्रो रकम कुन कानुनी प्रक्रियाबाट र कहिले फिर्ता आउँछ?

सांसद शर्माले सहकारीमन्त्रीसँग विनम्र आग्रह गर्दै भने, ‘यदि यस विधेयकमा इमेज सहकारीजस्ता अवस्थाका बचतकर्ताले अदालतको प्रक्रियाबाट प्रभावित नभइ रोक्का रहेको सम्पत्तिबाट आफ्नो बचत रकम फिर्ता पाउने कुनै स्पष्ट कानुनी व्यवस्था गरिएको छ भने हामीलाई स्पष्ट रूपमा बुझाइदिनुहोस्।’

उनले यो विधेयकमा यस्ता बचतकर्ताको हकहित सुरक्षित गर्ने प्रावधान छ वा छैन भन्ने विषयमा सरकारले ठोस जवाफ दिनुपर्ने माग राखे।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.