काठमाडौं । गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
सोही बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णय पनि गर्यो । यसका साथै नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई सरुवा गरिएको छ ।
प्रवक्ता पोखरेलका अनुसार विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्का (धनकुटा)लाई नियुक्त गर्ने निर्णय पनि भएको छ ।
मन्त्रिपरिषद् बैठकले कमैया श्रम निषेध गर्नेसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ । साथै अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न पनि स्वीकृति दिइएको छ ।
सरकारले ‘एग्रिमेन्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एन्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेसनल जुरिसडिक्सन’ लाई अनुमोदनका लागि संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।
बैठकले राष्ट्रिय सदाचार नीति, २०८३ र राष्ट्रिय विज्ञापन नीति, २०८३ समेत स्वीकृत गरेको छ ।
