काठमाडौं। नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर देश र जनताका प्रश्नमा स्पष्ट जवाफ दिन आग्रह गरेकी छन्।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रतिनिधि सभा नियमावली, २०८३ अनुसार प्रत्येक सांसदलाई प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्ने अधिकार रहेको स्मरण गराउँदै यो व्यवस्थाले सरकारलाई जवाफदेही, पारदर्शी र प्रभावकारी बनाउन मद्दत गर्ने बताइन्।
प्रधानमन्त्रीलाई सीधै सम्बोधन गर्दै सिद्धिकीले भनिन्, “प्रधानमन्त्री सडकको होइन, देश र नेपाली जनताको प्रधानमन्त्री हो। उहाँ संसदमा आएर देशको गरिमा र जनताको सम्मानका विषयमा स्पष्ट धारणा राख्नुपर्छ। देश र जनताको पक्षमा गम्भीर हुन सिक्नुस् प्रधानमन्त्रीज्यू।”
उनले सांसदहरूको भूमिका केवल सरकारलाई खबरदारी गर्नमा मात्र सीमित नरहेको, बरु सरकारलाई सफल र बलियो बनाउन पनि सहयोग गर्ने हो भन्दै हाल संसदप्रति सरकारको उत्तरदायित्व कमजोर बन्दै गएको टिप्पणी गरिन्।
सिद्धिकीले वर्तमान सरकारका सबै काम शतप्रतिशत सफल भएको दाबी गर्न नमिल्ने भन्दै जनताका मौलिक हक, सम्मानपूर्वक बाँच्ने अधिकार र ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्य कार्यान्वयनमा सरकार चुकेको आरोप लगाइन्। उनले भनिन्, “एउटा सांसदको दृष्टिले हेर्दा सरकार ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्यअनुसार अघि बढिरहेको देखिँदैन।”
सांसद सिद्धिकीले एमालेका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलमाथि भइरहेको अनुसन्धानको विषय पनि उठाइन्। पर्याप्त प्रमाणबिना म्याद थप्दै अनुसन्धान जारी राख्नु उचित नभएको बताउँदै उनले प्रश्न गरिन्, “यदि कुनै प्रमाण फेला परेन भने उहाँको सम्मान र मानहानीको जिम्मेवारी सरकारले कसरी लिन्छ?”
साथै, उनले प्रधानमन्त्रीका पछिल्ला सार्वजनिक अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै ती भनाइ देशको हितअनुकूल नरहेको दाबी गरिन्।
