धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् । उनले हेल्मेट नलगाई मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक प्रहरी सिधै उनको निवासमा पुगी जरिवाना असुल गरेको हो ।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले आफ्नो टिकटक अकाउन्टमार्फत शाहले निवास परिसरभित्र हेल्मेटबिना बुलेट बाइक चलाइरहेको भिडियो सार्वजनिक गरेका थिए । सो भिडियो सार्वजनिक भएपछि ट्राफिक प्रहरीले मुख्यमन्त्री निवासमै पुगेर उनलाई ५०० रुपैयाँ जरिवाना तिराएको छ ।
बिहीबार पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले आफूले ट्राफिक नियम उल्लङ्घन गरेको स्वीकार गर्दै आफैंले ट्राफिक प्रहरीलाई कारवाही गर्न आग्रह गरेको बताए । “कानून सबैका लागि बराबर हुनुपर्छ”, भन्दै शाहले यही सोचका साथ आफूले जरिवाना तिरेको जानकारी दिए ।
