राजनिती

१८ वर्षमुनिका सदस्यसम्बन्धी समाचार भ्रामक छ, प्रारम्भिक आवेदनको तथ्याङ्क मात्र सार्वजनिक भएको थियो : रास्वपा

By अर्जुन भट्टराई •

१८ वर्षमुनिका सदस्यसम्बन्धी समाचार भ्रामक छ, प्रारम्भिक आवेदनको तथ्याङ्क मात्र सार्वजनिक भएको थियो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनका आधारमा ‘१८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना पार्टी सदस्य रहेको’ भनी प्रकाशित समाचारलाई भ्रामक भएको बताएको छ।

बुधबार जारी विज्ञप्तिमार्फत पार्टीले स्पष्ट पारेको छ कि सार्वजनिक भएको उक्त तथ्याङ्क अन्तिम रूपमा प्रमाणीकरण भएका सदस्यको नभई डिजिटल प्रणालीमा दर्ता भएका प्रारम्भिक सदस्यता आवेदन (सेल्फ–डिक्लेर्ड एप्लिकेसन डाटा)को समष्टिगत विश्लेषण मात्र हो।

रास्वपाका अनुसार नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, बालबालिका सम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई पार्टी सदस्य बनाउने वा राजनीतिक गतिविधिमा सहभागी गराउने पार्टीको कुनै नीति, अभ्यास वा उद्देश्य छैन।

पार्टीले आफ्नो डिजिटल सदस्यता प्रणालीबारे जानकारी दिँदै भनेको छ — एप वा वेबसाइटमार्फत जोसुकैले आवेदन दिन सक्छन्, तर नागरिकतालगायत आधिकारिक कागजातका आधारमा उमेर र राष्ट्रियता प्रमाणीकरण भएपछि मात्र सदस्यता स्वीकृत हुन्छ। आवेदन, प्रमाणीकरण र अन्तिम स्वीकृति छुट्टाछुट्टै प्रक्रिया हुन्।

केही आवेदकको उमेर वास्तविकभन्दा कम देखिनुको कारण पार्टीले प्रारम्भिक समीक्षाबाट खुलाएको छ — विक्रम संवत् र ईस्वी संवत् छनोटमा त्रुटि, जन्ममिति टाइप गर्दा भएको गल्ती, वा जन्ममितिको सट्टा हालको मिति राखिनु यसका मुख्य कारण हुन्।

हाल डिजिटल प्रणालीमा ५ लाख २३ हजार ४६५ सदस्यता आवेदन दर्ता भएका छन्। तीमध्ये ३ लाख ९० हजार ११२ जनाको विवरण आधिकारिक कागजातका आधारमा प्रमाणीकरण भइसकेको छ भने बाँकी आवेदन प्रमाणीकरणकै प्रक्रियामा रहेका छन्।

यस घटनापछि रास्वपाले सदस्यता प्रणालीको प्राविधिक तथा प्रशासनिक समीक्षा सुरु गरेको छ। अब १८ वर्षभन्दा कम उमेर देखिने आवेदनलाई प्रणालीबाटै स्वतः रोक्ने, प्रमाणीकरण भएका विवरणको पुनः परीक्षण गर्ने, विक्रम संवत् र ईस्वी संवत्सम्बन्धी त्रुटि घटाउन थप प्राविधिक व्यवस्था मिलाउने र बाँकी सबै आवेदन पुनः प्रमाणीकरण गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

पर्याप्त प्रमाणीकरण नगरी प्रारम्भिक आवेदनका कच्चा तथ्याङ्क महाधिवेशनको सार्वजनिक प्रतिवेदनमा समावेश हुँदा आमनागरिक, सञ्चारमाध्यम र सरोकारवालामा भ्रम उत्पन्न भएकोमा पार्टीले दुःख व्यक्त गरेको छ। साथै संशोधित तथा अद्यावधिक सदस्यता तथ्याङ्क यथाशीघ्र सार्वजनिक गर्ने प्रतिबद्धता पनि जनाएको छ।

पार्टीले विधिको शासन, संविधानको सर्वोच्चता, सुशासन, पारदर्शिता तथा प्रचलित कानुनको पूर्ण पालनाप्रति आफू सदैव प्रतिबद्ध रहेको पुनः स्पष्ट गरेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.