काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले वर्तमान सरकार गठन भएपछिका पहिलो १०० दिनमा मन्त्रालयले गरेका प्रमुख कामहरूको विस्तृत प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेकी छन्।
मन्त्रालयका अनुसार यस अवधिमा औद्योगिक विकास, आपूर्ति व्यवस्थापन, वैदेशिक व्यापार प्रवर्द्धन र उपभोक्ता हित संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण नीतिगत तथा व्यावहारिक सुधारका काम अघि बढाइएका छन्।
प्रगति विवरण पेस गर्दै मन्त्री यादवले सरकारका लक्ष्यहरूलाई प्राथमिकतामा राखी मन्त्रालयले १०० दिनभित्र ठोस र परिणाममुखी काम सम्पन्न गरेको जानकारी दिइन्। देशको आर्थिक गतिविधिलाई चलायमान बनाउन र आम नागरिकले सुशासनको अनुभव गर्न सकून् भनेर मन्त्रालयले आफ्ना सबै गतिविधि केन्द्रित गरेको उनको भनाइ थियो।
प्रधानमन्त्री कार्यालयमा बुझाइएको उक्त विवरणमा विभिन्न ऐन–नियमहरूको परिमार्जन, रुग्ण उद्योगहरूको पुनरुत्थानको कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारिक सहजीकरण र बजार अनुगमनलाई तीव्रता दिइएका विषयहरू समेटिएका छन्। साथै, सय दिनको उपलब्धिको मूल्यांकनका आधारमा आगामी दिनमा मन्त्रालयले आफ्ना कामकारबाहीलाई थप तीव्र गति दिने प्रतिबद्धता पनि जनाएको छ।
