राजनिती

संघीयताप्रति प्रमुख दलहरू इमान्दार भएनन् : उपेन्द्र यादव

By अर्जुन भट्टराई •

संघीयताप्रति प्रमुख दलहरू इमान्दार भएनन् : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधानले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र भनी परिभाषित गरे पनि व्यवहारमा संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन्।

मंगलबार राजनीतिज्ञ र सरोकारवालाबीच विचार आदान-प्रदानका लागि आयोजना गरिएको एक कार्यक्रममा बोल्दै यादवले अधिकांश प्रमुख राजनीतिक दलले संघीयताप्रति आवश्यक प्रतिबद्धता नदेखाएको बताए।

उनले भने, ‘नेपाल परिभाषाले संघीय लोकतान्त्रिक गणतन्त्र हुनेछ भनेर संविधानको प्रस्तावनामै लेखिएको छ। तर, अभ्यास त्यस्तो छैन। किनभने नेपालमा एकाध पार्टी बाहेक संघीयताप्रति इमान्दारिता देखिएन।’

यादवले आफू उपप्रधानमन्त्री रहेका बेला तत्कालीन नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीसँग संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान संशोधन गर्ने सहमतिमा हस्ताक्षर भएको जानकारी दिए। तर, केही महिनापछि संघीयता र धर्मनिरपेक्षता बाह्य शक्तिले नेपालमा थोपरिएको भन्ने अभिव्यक्ति सार्वजनिक भएपछि उक्त सहमति कार्यान्वयनमा नआएको उनले बताए।

त्यसपछि शेरबहादुर देउवासँग पनि संघीयता कार्यान्वयनका लागि संविधान संशोधन तथा प्रदेश प्रहरी समायोजन लगायतका विषय अघि बढाउने सहमति भएको यादवले उल्लेख गरे। उनका अनुसार, प्रदेश प्रहरी समायोजन ऐन, २०७६ बने पनि त्यसको कार्यान्वयनमा सरकार पछि हटेकाले संघीयता कार्यान्वयनको प्रक्रिया पूरा हुन सकेको छैन।

यादवले कांग्रेस र कम्युनिस्ट दलहरूले संघीयताको पक्षमा सार्वजनिक रूपमा बोल्ने गरे पनि व्यवहारमा भने त्यसअनुसारको प्रतिबद्धता नदेखिएको बताए। संघीयता सफल बनाउन राजनीतिक नेतृत्वले भाषणभन्दा कार्यान्वयनमा बढी जोड दिनुपर्ने आवश्यकता रहेको पनि उनले स्पष्ट पारे।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.