राजनिती

सरकारी हस्तक्षेपले एन्फा प्रतिबन्धमा पर्‍यो : ओलीको आरोप

By अर्जुन भट्टराई •

सरकारी हस्तक्षेपले एन्फा प्रतिबन्धमा पर्‍यो : ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्धित हुनुको कारण सरकारको हस्तक्षेप रहेको आरोप लगाएका छन्।

नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘हामीभन्दा साना र अल्पविकसित देशहरूले विश्व फुटबलमा तहल्का मच्चाइरहेका छन्, तर नेपाली फुटबल भने अन्तर्राष्ट्रिय खेलमै प्रतिबन्धमा छ। यो कस्तो उल्टोपाल्टो अवस्था हो।’

उनले खेलकुदलाई समाजको शारीरिक तथा मानसिक स्वास्थ्य, सभ्यता, संस्कृति र समग्र विकासको स्तर प्रतिबिम्बित गर्ने महत्त्वपूर्ण माध्यम बताए। खेलकुद क्षेत्रमा योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा अवसर प्रदान गरिनुपर्नेमा पनि उनले जोड दिए।

ओलीले खेलाडीको क्षमता पहिचान गरी सम्बन्धित विधामै प्रोत्साहन गर्नुपर्ने बताउँदै क्षमता नभएको विधामा जबरजस्ती अघि बढाउँदा राम्रो नतिजा नआउने स्पष्ट पारे। साथै, खेलाडीलाई पर्याप्त पोषण, प्रशिक्षण र शारीरिक विकासका लागि उचित वातावरण उपलब्ध गराउन सरकारको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो।

उनले थपे, ‘खेलाडी खान नपाएर कमजोर हुने, उचित शारीरिक विकास गर्न नपाउने जस्तो स्थिति हुनुहुँदैन। यतातिर सरकारले ध्यान दिनुपर्नेमा उल्टै हस्तक्षेप गरेर एन्फालाई अन्तर्राष्ट्रिय खेलमै प्रतिबन्ध लाग्ने अवस्थामा पुर्‍याएको छ। यस स्थितिलाई हामीले परिवर्तन गर्नैपर्छ।’

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.