काठमाडौं। प्रतिनिधिसभाको अर्थ समितिले नेपाल राष्ट्र बैंकलाई पाँच दिनभित्र पुनः प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले बुझाएको प्रतिवेदनमा समितिले माग गरेका अपेक्षित विषयहरू समावेश नभएको भन्दै यस्तो निर्देशन दिइएको हो।
मंगलबार बसेको अर्थ समितिको बैठकमा राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदन तथा उपसमितिहरूको कामकारबाहीबारे छलफल भएको थियो। बैठकमा समिति सभापति कृष्णहरि बुढाथोकीले राष्ट्र बैंकले समितिको अघिल्लो निर्देशनअनुसार आवश्यक विषय समेटेर प्रतिवेदन पेश नगरेको बताए।
सभापति बुढाथोकीले भने, ‘२०८३ असार ५ गतेको बैठकमा निर्णायार्थ गरिएका कार्यसूचीका विषयहरू तथा सदस्यहरूले उठाएका प्रश्नहरू सान्दर्भिक तथ्यांकसहित संक्षिप्त प्रतिवेदनमा समेट्न निर्देशन दिइएको थियो। तर प्राप्त प्रतिवेदनमा ती विषयहरू उल्लेख नभएकोले समितिको गम्भीर ध्यानाकर्षण भएको छ। त्यसैले असार ५ गतेको निर्देशनबमोजिम माग गरिएका सबै विषयहरू स्पष्ट रूपमा खुलाई पाँच दिनभित्र पुनः प्रतिवेदन उपलब्ध गराउन निर्देशन दिने निर्णय गरिएको छ।’
सभापति बुढाथोकीले आगामी मौद्रिक नीति निर्माण गर्दा विगतका मौद्रिक नीतिको प्रभावकारिता, मुलुकको आर्थिक अवस्था र अन्तर्राष्ट्रिय सन्दर्भको समेत अध्ययन तथा समीक्षा हुनुपर्ने आवश्यकता औँल्याए। उनले भने, ‘आगामी मौद्रिक नीति कस्तो हुनुपर्छ भन्ने विषयमा समितिले आफ्नो धारणा राख्ने वातावरण बनाउनुपर्छ। आवश्यक परे विज्ञहरूको सुझाव पनि लिनेछौँ।’
