काठमाडौं । असारको पहिलो हप्ता नेपालको राजनीतिक चर्चाको केन्द्रमा एउटै विषय रह्यो — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो ऐतिहासिक महाधिवेशन। ७ असारमा उद्घाटन भएको यो महाधिवेशन ९ गतेसम्म सक्ने कार्यतालिका थियो, तर व्यवस्थापकीय कमजोरीका कारण तीन दिन थपिएर १२ असारमा मात्र सम्पन्न भयो।
दोस्रो चरणको मतदानबाट पदाधिकारीहरूको नतिजा आएसँगै गत शुक्रवार अपरान्ह महाधिवेशनको समापन भयो। उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि दोस्रो चरणको मतदान भएको थियो। सभापतिमा कुनै उम्मेदवारी नपरेकाले रवि लामिछाने निर्विरोध निर्वाचित भए।
विद्युतीय मतदान मेसिनमार्फत भएको यस निर्वाचनमा उल्लेखनीय कुरा के रह्यो भने ठूलो संख्यामा प्रतिनिधिहरू मतदानमा सहभागी नै भएनन्। पहिलो चरणमा केन्द्रीय सदस्यका लागि २ हजार ९५९ मत खसेकोमा दोस्रो चरणमा जम्मा १ हजार २८९ मत मात्र खस्यो। निर्वाचन समितिका अनुसार पहिलो चरणभन्दा झन्डै १ हजार ६७० मत कम खसेको छ।
१९ सदस्यीय पदाधिकारी समितिमा सभापतिसहित सात जना निर्वाचित भए। वरिष्ठ नेतामा वालेन्द्र शाह ‘बालेन’ स्वतः निर्वाचित भए। १५८ केन्द्रीय सदस्यमध्ये ९९ जना निर्वाचित भए र बाँकी ५१ जना सभापतिले मनोनयन गर्ने व्यवस्था छ।
महाधिवेशन स्थलमा कमै देखिएका निवर्तमान उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले देशभरका प्रतिनिधिको सर्वाधिक रोजाइमा परे। आर्थिक वर्ष २०८३÷०८४ को बजेटमा करको दर हेरफेर गरेको र बजेट किताबमा गम्भीर त्रुटि भएको भन्दै मिडिया र प्रतिपक्षी दलहरूको निसानामा परेका डा. वाग्ले आफ्नै दलभित्र चाहिँ सर्वसम्मत बने।
उपसभापतिका अर्का आकांक्षी विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएर डा. वाग्लेलाई समर्थन गरेपछि उनी सर्वसम्मत उपसभापतिमा निर्वाचित भए। प्रवास समिति र विद्युतीय माध्यमबाट खसेको मतसहित डा. वाग्लेले कुल २ हजार ६ सय ५६ मत प्राप्त गरे। निर्वाचन समितिका अनुसार प्रवास समितितर्फको शतप्रतिशत मत उनले पाएका छन्।
रास्वपा इलाम सभापति दिनेश महतले भने, ‘डा. वाग्ले मतदाताहरूसँग खासै देखिनुभएन, मैले भेट्दै भेटिनँ। तर वहाँप्रति सर्वाधिक चासो थियो। धेरैले हालका सभामुख डिपी अर्याल र डा. वाग्लेको नाम अत्यधिक लिइरहेका थिए।’ उनले थपे, ‘डा. वाग्ले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विद्वान व्यक्तित्व हुनुहुन्छ, त्यसैले देशभरका प्रतिनिधिले धेरै चासो दिएका थिए। मतदाताले संगठन निर्माणमा उहाँले खेलेको भूमिका र व्यक्तित्व रोजेका हुन्।’
रास्वपा डोटीका सहसचिव एवम् संगठन विभाग प्रमुख डिल्लीराज भट्टले भने, ‘मतपत्रमा उहाँको नाम एक नम्बरमा थियो, त्यसैले प्रतिनिधिले छाप लगाउन छुटाएनन्। त्यसबाहेक पार्टीको आन्तरिक राजनीतिमा उहाँ मूल व्यक्तित्व पनि हुनुहुन्छ।’
८८ प्रतिशत मत
सर्वसम्मत निर्वाचित भएपछि डा. वाग्लेले सामाजिक सञ्जालमा सबैप्रति आभार व्यक्त गरे। उनले चार वर्षअघि सभापति रवि लामिछानेले जम्मा २१ जनाको अपरिचित समूहसहित रास्वपाको स्थापना गरेको स्मरण गर्दै लेखे, ‘आज सदस्य संख्या पाँच लाख नाघी भीमकाय बनेको दलको प्रथम राष्ट्रिय महाधिवेशन ऐतिहासिक त रह्यो नै, सोचेभन्दा जटिल पनि बन्न पुग्यो।’
उनले थपे, ‘अब पहिलो अनुभवबाट सिक्दै, सुधार्दै अघि बढ्नेछौं। म प्रति अगाध स्नेह र भरोसा राखी सर्वाधिक लोकप्रिय मतसहित (८८ प्रतिशत) केन्द्रीय सदस्य एवं निर्विरोध उपसभापति चयन गरिदिनुभएकोमा तमाम प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दछु। रास्वपाः सततम् आरोहणम्।’
बहालवाला अर्थमन्त्री वाग्ले वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको क्षेत्रमा भएको उपनिर्वाचनका बेला रास्वपामा प्रवेश गरेका थिए र त्यो उपनिर्वाचनमा विजय पनि हासिल गरेका थिए। यसका अतिरिक्त २०८२ फागुन २१ को निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट उनी पुनः निर्वाचित भएका छन्।
अन्तर्राष्ट्रिय ख्याति
विश्व बैंक र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) मा २० वर्षभन्दा बढी काम गरिसकेका वरिष्ठ अर्थविद् डा. वाग्ले अन्तर्राष्ट्रिय विकासका विशेषज्ञ मानिन्छन्। न्युयोर्कस्थित यूएनडीपीको एशिया–प्रशान्त क्षेत्रीय ब्युरोको प्रमुख आर्थिक सल्लाहकारका रूपमा उनले ३६ देशको विकास रणनीतिमा प्रत्यक्ष भूमिका खेलिसकेका छन्।
सन् २०१४ देखि २०१८ सम्म राष्ट्रिय योजना आयोगमा सदस्य हुँदै उपाध्यक्ष बनेका डा. वाग्ले साधारण सदस्यका रूपमा रास्वपामा प्रवेश गरेका थिए। उनको व्यक्तित्व र क्षमतालाई सम्मान गर्दै रास्वपाले २०८० मंसिर १६ गते उनलाई उपसभापति बनाएको थियो। अब २०८३ असारबाट उनी पुनः रास्वपाको निर्णायक भूमिकामा पुगेका छन्।
रविका सारथी
रास्वपा स्थापनापछि सभापति रवि लामिछानेमाथि राजनीतिक आक्रमण सुरु भयो। सहकारी ठगी प्रकरणमा उनी जेल चलान मात्र भएनन्, दर्जन जिल्ला अदालतमा ठगीका मुद्दा दर्ता भए। लामिछानेले यसलाई ‘राजनीतिक प्रतिशोध’ र वैकल्पिक शक्तिको उदयलाई रोक्न चालिएको कदम भने। यस कठिन घडीमा डिपी अर्याल र डा. वाग्ले सार्वजनिक रूपमै रविको बचाउमा उभिए।
तत्कालीन सरकारको प्रतिशोधपूर्ण व्यवहारको प्रतिकार मात्र गरेनन्, तार्किक र कानुनसम्मत बहसमा उत्रिएर अवस्था सहज बनाउँदै लगे। संकटमा परेको पार्टी जोगाउन र सभापतिलाई मुक्त गराउने आन्दोलनको राजनीतिक मोर्चाको नेतृत्व वाग्लेले नै गरे। कुशासनविरुद्ध खरो प्रतिवाद गर्दै उनले आन्दोलनलाई सशक्त बनाए र रास्वपालाई पहिलो शक्ति बनाउने अभियानमा उनको भूमिका निर्णायक मानिन्छ।
पार्टीका नीति, विचार र सिद्धान्तको खाका निर्माणमा प्रमुख जिम्मेवारी सम्हाल्दै आएका डा. वाग्लेलाई अब बजेटमार्फत आफैंले अघि सारेको आर्थिक सुधारको अभियान थप प्रभावकारी रूपमा अगाडि बढाउन यो जिम्मेवारीले थप मदत पुग्ने आकलन गरिएको छ।
