काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकम (एनटिसी)लाई सेवाग्राहीमैत्री, छिटो र गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
मन्त्री डा. तिमिल्सिनाले मंगलबार सुन्धारास्थित नेपाल टेलिकमको सूचना प्रविधि निर्देशनालयअन्तर्गतको बिजनेस सपोर्ट सिस्टम (बीएसएस) विभाग तथा दूरसञ्चार कार्यालयको निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा उनले सेवा प्रवाहलाई अझ पारदर्शी र डिजिटल प्रणालीमा आधारित बनाउन जोड दिए।
नेपाल टेलिकमका प्रबन्धक शालिकराम सुवेदीले सूचना प्रविधि निर्देशनालयमार्फत सम्पादन हुने कामहरू र टेलिकमको बिलिङ प्रणालीबारे मन्त्रीलाई जानकारी गराए। मन्त्री तिमिल्सिनाले बिलिङ प्रणाली, ग्राहक व्यवस्थापन र सूचना प्रविधिमा आधारित सेवा प्रवाहका विषयमा विस्तृत जानकारी लिए।
त्यसपछि उनले सुन्धारास्थित दूरसञ्चार कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरूसँग प्रत्यक्ष कुराकानी गरे। नयाँ सिम कार्ड, बिल भुक्तानी, ई-सिम, टेलिफोन र इन्टरनेट सेवाबारे उनीहरूका अनुभव सुने। सेवाग्राहीहरूले लामो समय लाइनमा बस्न नपरेको र अपेक्षाकृत छिटो सेवा पाएको बताए।
निरीक्षणपछि मन्त्री डा. तिमिल्सिनाले ग्राहकका व्यक्तिगत विवरण सुरक्षित रूपमा डाटाबेसमा राख्ने व्यवस्था प्रभावकारी रूपमा लागू गर्न तथा एकपटक विवरण अद्यावधिक गरिसकेपछि पुनः उही कागजात पेश गर्नुपर्ने झन्झटको तत्काल अन्त्य गर्न निर्देशन दिए।
सो अवसरमा सुन्धारा दूरसञ्चार कार्यालयका प्रमुख निर्मलराज चटौतले सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्यअनुसार नयाँ सिम वितरण, केवाईसी अद्यावधिक, गुनासो दर्ता तथा ट्र्याकिङ र शुल्क भुक्तानीलगायत सेवाहरू अनलाइनमार्फत उपलब्ध गराउने प्रणाली विकास गरिएको जानकारी दिए। सिमका लागि अनलाइन आवेदन प्रणाली लागू गरिएको र ग्राहकले आफूलाई नजिकको सेवा केन्द्रबाट सिम लिन सक्ने व्यवस्था मिलाइएको पनि उनले बताए। ई-सिमका लागि भने कार्यालय नआई अनलाइनबाटै सेवा लिन सकिने उनले जानकारी दिए। साथै, सेवाग्राहीलाई एकै ठाउँबाट सबै सेवा उपलब्ध गराउने उद्देश्यले ‘फ्रन्ट हेल्प डेस्क’ स्थापना गरी ‘वान स्टप सर्भिस’ सञ्चालनमा ल्याइएको पनि उनले बताए।
कार्यालय निरीक्षणपछि सञ्चारमन्त्री डा. तिमिल्सिनाले आधुनिक सेवा विस्तारसँगै सेवाको गुणस्तर, ग्राहक सन्तुष्टि र व्यक्तिगत विवरणको सुरक्षामा नेपाल टेलिकमले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
