राजनिती

संसद जनताको आवाज सशक्त बनाउने मञ्च हो : नेता आङदेम्बे

By अर्जुन भट्टराई •

संसद जनताको आवाज सशक्त बनाउने मञ्च हो : नेता आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले संसदको गरिमा, प्रभावकारिता र विश्वसनीयता थप सुदृढ बनाउन सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।

संसद दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै नेता आङदेम्बेले भने, ‘वि.सं. २०१६ साल असार १६ गते जननिर्वाचित संसदको पहिलो बैठक बसेको ऐतिहासिक दिनले नेपाली जनताको लोकतान्त्रिक संघर्ष, जनप्रतिनिधिमूलक शासन प्रणाली र संविधानवादप्रतिको अटल प्रतिबद्धताको स्मरण गराउँछ।’

उनले थपे, ‘यो दिन नेपालमा लोकतन्त्रको संस्थागत विकास र जनसरोकारका विषयलाई संसदमार्फत सम्बोधन गर्ने हाम्रो साझा जिम्मेवारीलाई पुनः सम्झने अवसर पनि हो।’

संसदलाई लोकतन्त्रको मेरुदण्ड बताउँदै उनले भने, ‘जनताको सार्वभौम इच्छालाई कानुन, नीति र राज्य सञ्चालनमार्फत कार्यान्वयन गर्ने सर्वोच्च लोकतान्त्रिक संस्था भएकाले यसको गरिमा जोगाउनु सरकार, प्रधानमन्त्री, सभामुख, मन्त्रीहरू तथा सबै सांसदहरूको दायित्व हो।’

नेता आङदेम्बेले नेपाली कांग्रेस सदैव लोकतन्त्र, संविधानको रक्षा, विधिको शासन, मानव अधिकार तथा समावेशी र उत्तरदायी संसदीय अभ्यासप्रति प्रतिबद्ध रहेको पनि स्पष्ट पारे। संसद दिवसले संसदलाई लोकतान्त्रिक मूल्य–मान्यता अनुरूप अझ सुदृढ बनाउन प्रेरणा प्रदान गर्ने विश्वास पनि उनले व्यक्त गरे।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.