राजनिती

धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्छ : राष्ट्रपति पौडेल

By अर्जुन भट्टराई •

धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र जलवायुमैत्री प्रविधिको प्रयोग गरी धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका छन्।

सोमबार २३औँ राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले कृषकलाई आवश्यक कृषि सामग्री, उचित मूल्य र बजार पहुँच उपलब्ध गराउनु राज्यको दायित्व भएको बताए। उनले खाद्य सुरक्षालाई संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेको पनि स्मरण गराए।

जलवायु परिवर्तनका कारण धान खेतीमा चुनौती बढ्दै गएको उल्लेख गर्दै उनले सरकारले सिँचाइ पूर्वाधारको विस्तार, जलवायुमैत्री कृषि प्रविधिको विकास र कृषकलाई आवश्यक सहयोग उपलब्ध गराउन प्राथमिकता दिनुपर्ने बताए।

उनले भने, ‘जलवायु परिवर्तनले धान खेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाई हाम्रो मागअनुसारको धान उत्पादन एवम् उत्पादकत्व बढाउनुपर्ने आजको आवश्यकता हो।’

राष्ट्रपति पौडेलले नेपाली जीवनशैली प्रकृति र माटोसँग अत्यन्त निकट रहेको भन्दै धान रोप्ने यो महिनालाई कृषि कार्यका लागि विशिष्ट महिना भएको बताए। उनले हिलोमा रमाउँदै धान रोप्ने र दही, चिउरा, अचारजस्ता परिकारले यस दिनलाई झनै खास बनाउने उल्लेख गर्दै असार पन्ध्रलाई ‘दहीचिउरा खाने दिन’ पनि भनिने बताए।

राष्ट्रपति पौडेलले सम्पूर्ण कृषक दिदीबहिनी तथा दाजुभाइहरूलाई राष्ट्रिय धान दिवसको हार्दिक शुभकामना दिए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.