राजनिती

वैज्ञानिक समाजवादको नयाँ कार्यक्रम अनिवार्य छ : झलनाथ खनाल

By अर्जुन भट्टराई •

वैज्ञानिक समाजवादको नयाँ कार्यक्रम अनिवार्य छ : झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले नेपाली कम्युनिष्ट आन्दोलनलाई समाजवादी क्रान्तिको नयाँ चरणअनुसार अघि बढाउन अब ‘नेपाली विशेषताको वैज्ञानिक समाजवादी कार्यक्रम’ आवश्यक रहेको बताएका छन्।

सोमबार कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको १०२औँ जन्मजयन्तीको अवसरमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै खनालले पुरानो नयाँ जनवादी क्रान्तिकै कार्यक्रम बोकेर समाजवादी क्रान्ति सम्पन्न गर्न नसकिने स्पष्ट पारे।

उनले भने, ‘समय बदलिइसकेको छ। क्रान्तिको स्वरूप बदलिएको छ। समाजको प्रधान अन्तर्विरोध बदलिएको छ। क्रान्तिका शत्रु र मित्रहरू बदलिइसकेका छन्। अन्तर्राष्ट्रिय परिस्थितिमा पनि ठूलै परिवर्तनहरू आइरहेका छन्। यस्तो अवस्थामा अब नयाँ शिराबाट समाजवादी क्रान्ति र रूपान्तरणको कार्यक्रम अगाडि सार्नु आवश्यक छ। र त्यो वैज्ञानिक समाजवादको कार्यक्रम हो।’

खनालले थपे, ‘एउटा पार्टीको रूपमा यो पार्टीलाई विकसित नगरिकन समाजवादी क्रान्ति पूरा गर्न कठिन छ। अब समाजवादी क्रान्तिको युग सुरु भएको छ, त्यसैले यस विषयमा बहस अगाडि सार्नु अत्यावश्यक छ।’

आफूले लेखेको ‘वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद’ पुस्तकले यही वैचारिक बहसलाई प्रतिनिधित्व गर्ने उनको भनाइ थियो। उनले नेपालका कम्युनिष्ट शक्तिहरू एकजुट भएर वैज्ञानिक समाजवादको साझा कार्यक्रम घोषणा गर्नुपर्ने समय आएको पनि बताए।

खनालले माक्र्सवादी द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त उल्लेख गर्दै संसारमा कुनै पनि वस्तु वा संस्थाको उत्पत्ति र अन्त्य हुने र यो नियम राजनीतिक दलहरूमा पनि लागू हुने बताए। उनका अनुसार आदिम साम्यवाद, दासप्रथा र सामन्ती व्यवस्थामा आधुनिक अर्थमा राजनीतिक दलको अस्तित्व थिएन र पुँजीवादको विकाससँगै पुँजीपति र श्रमिक वर्गका पार्टीहरूको जन्म भएको हो।

उनले कम्युनिष्ट पार्टीका तीन ऐतिहासिक जिम्मेवारी पनि औँल्याए — पहिलो, जनवादी क्रान्ति सम्पन्न गर्ने; दोस्रो, समाजवादी क्रान्ति सम्पन्न गर्ने; र तेस्रो, समाजवाद निर्माण गर्दै समाजलाई साम्यवादसम्म पुर्‍याउने। यी जिम्मेवारी पूरा भएपछि कम्युनिष्ट पार्टीको आवश्यकता पनि समाप्त हुने उनको धारणा थियो।

खनालले अहिलेको पुँजीवादी व्यवस्थाले भ्रष्टाचार, शोषण, अन्याय र अत्याचारजस्ता समस्या समाधान गर्न नसक्ने दाबी पनि गरे।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.