राजनिती

गगन थापाको असार १५ मा शुभकामना : ‘किसानको सम्मान र कृषि आधुनिकीकरण अपरिहार्य’

By अर्जुन भट्टराई •

गगन थापाको असार १५ मा शुभकामना : ‘किसानको सम्मान र कृषि आधुनिकीकरण अपरिहार्य’

काठमाडौं । राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा नेपाली कांग्रेसका सभापति गगन थापाले शुभकामना सन्देश जारी गर्दै किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा विशेष जोड दिएका छन्।

आफ्नो सन्देशमा थापाले नेपाल कृषि प्रधान देश भएकाले कृषि यहाँको सभ्यता, संस्कृति र अर्थतन्त्रको मूल आधार रहेको बताए। खेतमा पसिना बगाएर देशको खाद्य सुरक्षा सुनिश्चित गर्ने किसानप्रति उच्च सम्मान व्यक्त गर्दै उनले असार १५ लाई किसानको श्रम, सङ्घर्ष, आशा र आत्मनिर्भरताको उत्सवका रूपमा उल्लेख गरे।

थापाले संविधानले खाद्य सम्बन्धी हकलाई प्रत्येक नागरिकको मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको सम्झाउँदै धान उत्पादन वृद्धि गर्नु केवल कृषि कर्म मात्र नभई संविधानको मर्म कार्यान्वयनसँग समेत जोडिएको विषय भएको बताए। साथै, किसानले हरेक वर्ष बीउ, मल, सिँचाइ र उचित मूल्यको अभाव झेल्नुपरेको र धान खेती अझैपनि वर्षामा निर्भर रहनुपरेको तथ्यतर्फ सरकारको ध्यान खिचाए। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा थप चुनौती थपिँदै गएको उनको भनाइ छ।

यस वर्षको राष्ट्रिय धान दिवसको नारा ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ को सन्दर्भमा थापाले मौसमअनुकूल तथा वातावरणमैत्री कृषि प्रविधिको विस्तार आवश्यक रहेको बताए। आधुनिक प्रविधिको प्रयोगबाट उत्पादन बढाउँदै चामल आयातमाथिको निर्भरता घटाउन सकिने उनको विश्वास छ।

सिँचाइ विस्तार, आधुनिक कृषि प्रविधि, उन्नत बीउ, गुणस्तरीय मल, भण्डारण सुविधा र किसानले उत्पादनको उचित मूल्य पाउने व्यवस्था सुनिश्चित गर्नुपर्नेमा थापाले जोड दिए। कृषिलाई सम्मानित, मर्यादित र आकर्षक पेशाका रूपमा विकास गर्न सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकतासमेत उनले औँल्याए।

सन्देशको अन्त्यमा थापाले राष्ट्रिय धान दिवस तथा असार १५ ले अन्नदाता किसानप्रतिको सम्मान अझ सुदृढ बनाउँदै खाद्य सुरक्षा र कृषि समृद्धिको दिशामा सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरे।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.