राजनिती

कृषि उत्पादन बढाएर आत्मनिर्भर बन्नुपर्छ : मुख्यमन्त्री कार्की

By अर्जुन भट्टराई •

कृषि उत्पादन बढाएर आत्मनिर्भर बन्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरेर आत्मनिर्भरताको बाटोमा अघि बढ्नुपर्ने बताएका छन्।

राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले धान रोपाइँ, असारे भाका र दही–चिउरा खाने परम्परा नेपाली संस्कृति र पहिचानको अभिन्न हिस्सा रहेको बताए। उनले राष्ट्रिय धान दिवस नेपालीहरूको मौलिक पर्वका रूपमा स्थापित भइसकेको पनि उल्लेख गरे।

मुख्यमन्त्री कार्कीले युवाको वैदेशिक पलायन र बढ्दो बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुँदै जानु कृषि क्षेत्रका लागि गम्भीर चुनौती बनेको बताए। यस चुनौतीको सामना गर्न आधुनिक प्रविधि, यान्त्रिकीकरण र वैज्ञानिक खेतीको विस्तारमार्फत उत्पादन बढाउनुपर्नेमा उनले जोड दिए।

कोशी प्रदेश सरकारले कृषि उत्पादन वृद्धि, बजारीकरण, नवप्रवर्तन, व्यावसायिक खेती, उत्पादनमुखी योजना, प्राविधिक सहयोग र कृषकमैत्री कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उनले जानकारी दिए।

साथै, राष्ट्रिय धान दिवसको अवसरमा मुख्यमन्त्री कार्कीले सम्पूर्ण कृषकको श्रम, समर्पण र योगदानप्रति सम्मान व्यक्त गर्दै कृषि क्षेत्रको आधुनिकीकरण र समृद्ध कोशी प्रदेश निर्माणका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.