काठमाडौँ । प्रतिनिधि सभाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति गठन गरेको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाका तर्फबाट समिति सदस्यहरुको मनोनयन सूची पढेर सुनाएका थिए । कार्य व्यवस्था परामर्श समितिको सुझाव लिएर मंगलबार सभामुख घिमिरेले समितिका सदस्य मनोनयन गरेका हुन् । अन्य समिति २०८० सालमै गठन भएपनि उक्त समिति गठन हुन सकेको थिएन ।
समिति सदस्यहरुमा प्रतिनिधिसभाका तर्फबाट ठाकुरप्रसाद गैरे, दिलेन्द्रप्रसाद बडू, देवप्रसाद तिमल्सिना, प्रतिमा गौतम, प्रभु हजारा, बुद्धिमान तामाङ, शान्ति बि.क., सन्तोष परियार, सरस्वती सुब्बा, हितराज पाण्डे र हेमराज राई रहेका छन् ।
बैठकमा सभामुख घिमिरेले बिभिन्न समितिमा सदस्य हेरफेरको जानकारी गराएका थिए भने बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । प्रतिनिधिसभाको अर्को बैठक साउन २० गते आइतबार बोलाइएको छ ।
