राजनिती

उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी

By अर्जुन भट्टराई

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

उद्योग मन्त्रालयसँगको साझेदारीमा नेपाल उद्योग परिसङ्घले आज यहाँ आयोजना गरेको ‘मेक इन नेपाल–स्वदेशी’ अभियानको उद्घाटन कार्यक्रममा उनले भने, “तुलनात्मक लाभ लिई व्यापार विस्तार गर्न पनि स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न आवश्यक छ, यसका लागि आगामी बजेटमा व्यवस्था हुनेछ, उद्योगको प्रवद्र्धन गर्न, स्वदेशी उद्योगलाई उच्च महत्व दिन पनि मन्त्रालय प्रतिबद्ध छ, सोही दिशामा अर्थ मन्त्रालयलाई सुझाव दिइएको छ र आगामी दिनमा पनि दिइनेछ, व्यक्तिगत रुपमा पनि म यस कार्यका लागि विशेष पहल गर्नेछु ।”

मन्त्री भण्डारीले देशको कूल गार्हस्थ्य उत्पादन जिडिपीमा न्यून रहेको उद्योग क्षेत्रको योगदान बढाउन आवश्यक रहेको बताए । उद्योग क्षेत्रको योगदान अर्थतन्त्रमा नभएसम्म आर्थिक समृद्धि नहुने उनको भनाइ थियो । उनले यसका लागि ठूलै सुधारको आवश्यकता औँल्याए ।

सरकार निजी क्षेत्रसँग मिलेर उद्योगमा लगानी प्रोत्साहन गर्दै यसको योगदान बढाउन सबै अगाडि बढ्नुपर्ने मन्त्री भण्डारीको जोड थियो । उनले भने, “स्वदेशी लगानीका साथै विदेशी लगानी पनि आकर्षित गर्न, उद्योग क्षेत्रमा लगानी कसरी प्रवद्र्धन गर्न सकिन्छ र विदेशी लगानीकर्तालाई भित्र्याउन सकिन्छ भन्ने विषयमा निजी क्षेत्रको अनुभवसमेतका आधारमा विदेशी लगानीकर्ता प्रोत्साहन गर्न निजी क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गर्दछु ।”

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.