राजनिती

आगामी अधिवेशनमा समितिबाट धेरै विधेयकहरु पेश हुनेछन् : सभामुख घिमिरे

By अर्जुन भट्टराई

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदको आगामी अधिवेशन अगावै महत्वपूर्ण विधेयकहरुमाथि छलफल गरि पारित गर्न संसदीय समितिको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार संसद सचिवालय सिंहदरबारमा बिभिन्न बिषयगत समितिका सभापतिका साथै राष्ट्रिय दलका मुख्य सचेतक, सचेतक संग सामूहिक रुपमा छलफल गर्दै सभामुख घिमिरेले आगामी अधिवेशन अगावै बिधेयकहरु पारित गर्ने गरि तयारी गर्न ध्यानाकर्षण गराएका हुन् । आगामी अधिवेशनमा आउन सक्ने विधेयक, समितिमा विधेयकको अवस्था, आगामी अधिवेशनको तयारी लगााएतका बिषयमा छलफल भएको सभामुख घिमिरेले जानकारी दिए ।

अझैपनि धेरै विधेयकहरु समितिमा टुङ्गो लाग्न बाँकी रहेको र छिटो टुङ्ग्याउने काममा गति दिन आफुले आग्रह गरेको उनले बताए । उनले आगामी अधिवेशनको तयारी गर्नुपर्ने र अधिवेशनमा आउन सक्ने अप्ठेराहरु हल गर्न सवैले भूमिका खेल्न आग्रह गरेको जानकारी दिए ।

बैठकपछि कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संविधान कार्यान्वयनका निम्ति धेरै विधेयकहरु समितिमा रहेकाले यसलाई छिटो भन्दा छिटो अघि बढाउनुपर्ने जोड दिइएको बताए । आगामी अधिवेशनमा समितिबाट धेरै विधेयकहरु पेश हुने उनको भनाइ छ । उनले सहकारीको समस्या पूर्णरुपमा समाधानका लागि आगामी अधिवेशनबाटै आवश्यक कानून निर्माण हुने जिकिर गरे ।

त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसद नहुदा संसदीय समितिमा पनि प्रभाव परेको र विधेयकमाथि छलफल रोकिएको बताए । उनले छिटै विधेयक अघि बढाउन सभामुखले निर्देशन दिएको जानकारी दिए ।

त्यस्तै बैठकमा समिति सभापतिहरुले संसदीय समितिले दिएको निर्देशन पालनाका लागि सरोकारवाला सवै पक्ष गम्भीर हुनुपर्ने धारणा राखेका थिए ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.